सुप्रिम ठगीमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दीपेशसहित ६ जनाको नाममा धरौटी तर दीपेश थुनामै

सुप्रिम ठगीमा अध्यक्ष गुरुङ पुर्पक्षका लागि थुनामा, दीपेशसहित ६ जनाको नाममा धरौटी तर दीपेश थुनामै

बुटवल : बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो भने पक्राउ परेका

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले शुक्रवार अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिँदै दीपेश पुन, नवीन अछामी लगायतकासँग धरौटी मागेको थियो।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग अदालतले ४ लाख रुपैयाँ धरौटी मागेको थियो। तर उनले धरौटी बुझाएनन्। अछामीले पनि १० लाख धरौटी नबुझाएपछि यी दुवै पनि थुनामा गए।

अदालतले दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दिपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटी मागेकोमा उनीहरु धरौटी रकम बुझाएर रिहा भए। कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारमा छन्। उनीहरुलाई कारागारबाट झिकाउन अदालतले आदेश दिएको छ। 

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। जीवी राईसहितका फरार रहेकाहरूबारे पक्राउ परेका सातमध्ये ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

अभियोग पत्रमा जीवी र रवि लामिछाने संलग्न गोर्खा मिडिया प्राली, जीवी समूहको विभिन्न कम्पनीको नाममा अवैध रूपमा सहकारीको बचत रकम दुरुपयोग गरेको उल्लेख थियो।

गृहमन्त्री लामिछानेको नाममा समेत सहकारीबाट दुई करोड ऋण प्रवाह भएको अभियोग पत्रमै उल्लेख छ। तर उनीबारे प्रहरीले विस्तृत अनुसन्धान गरेन। जिल्ला सरकारी वकिलको कार्यालयले समेत चासो देखाएन।

यही समूह पोखराको सुर्यदर्शन सहकारीका वचतकर्ताको रकम दुरुपयोगमा संलग्न देखिएका थिए। सुदर्शन सहकारीमा पक्राउ र अनुसन्धान सुरु भए लगत्तै फरार भएका जीवी अझै पक्राउ परेका छैनन्।

उनी मलेसियामा रहेको सूचनाको आधारमा प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गरेर नेपाल ल्याउन प्रयास गरे पनि सफल भएको छैन। प्रतिपक्षमा रहँदा सत्तापक्षले जीवीलाई जानाजान पक्राउ नगरेको दाबी गरेका थिए। अहिले उनी नै उपप्रधान तथा गृहमन्त्री छन्। तर उनले पनि जीवीलाई पक्राउ गर्न सकेका छैनन्।

सुप्रिम ठगीमा उनीसहित फरार रहेका अभियुक्तहरुको नाममा अदालतले ३५ दिने म्याद जारी गरेको छ। म्याद जारी हुनेहरुमा सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्र बावु राई, धिरज कुमार दास, अलि सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका, आशिष आनन्द मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मन प्रसाद गुरुङ, पौ बहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट र कविता तामाङ छन्।

७ बैशाख, २०८१, १९:५७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।