एमाले प्रतिनिधि परिषद् बैठक गोदावरीमा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

एमाले प्रतिनिधि परिषद् बैठक गोदावरीमा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ : एमालेको प्रतिनिधि परिषद् बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

वैशाख ८ र ९ गते गोदावरीमा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक हुँदैछ।

परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३ सय ८१ जना आयोजक गरी २४ सय ५४ जना सहभागी हुँदैछन् ।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न हुने परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ।

बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औँ वर्ष पारेर वैशाख १० गते विशेष समारोहको आयोजना गरिने र सो समारोहलाई देउवा, प्रचण्ड लगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने एमालेले जानकारी दिएको छ।

शुक्रवार एमाले महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशाबाट अगाडि बढाउने कुराको निष्कर्ष राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबाट निकाल्ने बताएका थिए।

७ बैशाख, २०८१, १८:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।