लुम्बिनी : गठबन्धनमा भाग पुर्याउन मन्त्रालय फुटाएर ११ पुर्याइयो, नवनियुक्त मन्त्रीले लिए सपथ

लुम्बिनी : गठबन्धनमा भाग पुर्याउन मन्त्रालय फुटाएर ११ पुर्याइयो, नवनियुक्त मन्त्रीले लिए सपथ

बुटवल : लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्। 

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई सपथ गराएका हुन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले गत चैत्र २३ गते आफू नियुक्त भएपछि दोस्रोपटक मन्त्रिपरिषद बिस्तार गरी पूर्णता दिएका हुन्। 

सत्ता समीकरणमा भागबन्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी र एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा १० सदस्यीय मन्त्रिपरिषद थियो। त्यसअघि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा ४ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद थियो। 

गठबन्धनभित्र भागबन्डा पुर्याउन मन्त्रीको संख्या बढेसँगै मन्त्रालय फुटाउनुपर्ने भएको छ। एकजना मन्त्री थपिँदा मन्त्री, उनको सचिवालय, गाडी, इन्धन आदि खर्च थपिन्छ। जसबाट वर्षेनी करोडौं आर्थिक भार राज्यलाई थपिन्छ। 

महरा चैत २३ गते एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदसहित ४८ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

बिहीबार मुख्यमन्त्री महराले १० सदस्यीय मन्त्रिपरिषद बनाउँदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेका थिएनन्। पछि अधिकारी र उनको दलले मन्त्री बनाउने लिखित सहमति उल्लंघन गरेको भन्दै आपत्ति जनाएपछि मन्त्री नियुक्त गरेका हुन्। 

६ बैशाख, २०८१, १८:५२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।