शोभित बस्नेतको हिजोको कुरा : ‘आर्मी’ फिल्मका लागि राजा वीरेन्द्रले छ सय आर्मी दिनुभो, हेर्ने बेलामा आफैँ रहनुभएन

शोभित बस्नेतको हिजोको कुरा : ‘आर्मी’ फिल्मका लागि राजा वीरेन्द्रले छ सय आर्मी दिनुभो, हेर्ने बेलामा आफैँ रहनुभएन

अभिनेता तथा चलचित्र निर्देशक शोभित बस्नेत १९ वर्षको उमेरदेखि फिल्म निर्देशनमा लागे। अहिलेका दर्शकले नायक सलोन बस्नेतको बुवा भनेर चिने पनि उनको आफ्नै परिचय र संघर्षको कहानी छ। अहिलेसम्म ३५ वटा फिल्म निर्देशन गरिसकेका छन् शोभितले। उनकै निर्देशनमा रहेको पछिल्लो फिल्म ‘बद्री बहादुर’ अहिले प्रदर्शनका संघारमा छ।

४० को दशकको सुरुवाती अवस्थामा शोभितका बुवाले एयरपोर्ट अगाडि होटल व्यवसाय सञ्चालन गरेका थिए। त्यसकारण उनको बाल्यकाल सिनामंगलमै बित्यो। थानकोट उनीहरूको पुर्ख्यौली थलो हो। त्यो समय थानकोट अहिलेजस्तो विकसित थिएन र गाडीको सुविधा पनि थिएन। त्यसकारण पनि उनको परिवार थानकोट छाडेका थिए। यद्यपि अन्य परिवार र थातथलो भने उतै थियो।

सिनामंगल बस्ने शोभितलाई त्यो समयमा आफ्ना साथीहरूसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भाँडाकुटी खेलेको सम्झना छ। त्यो समयमा विमानस्थलमा अहिलेजस्तो सुरक्षा निकाय र तारजाली नभएको उनी बताउँछन्। अहिलेको जस्तो बाक्लो बस्ती नभएकाले जो-कोही विमानस्थल आवतजावत गर्न पाउने अवस्था भएको उनले स्मरण गरे।

आईएसम्मको अध्ययन गरेका शोभितले त्यो बेलाको काठमाडौं, फिल्म क्षेत्रको अवस्था तथा राजारानीसँगको भेट र अनुभवबारे उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’मा यसरी स्मरण गरेका छन्।

०००

मेरो बाल्यकाल एयरपोर्ट छेउ सिनामंगलमै बित्यो। मैले थाहा पाउँदा तत्कालिन समयमा सिनामंगल गाविस पञ्चायत भन्ने गर्थे। सिनामंगलमा भुवन केसीको घरमा बुवाले फ्लाट लिनुभएको थियो। मेरो बुवा, भुवक केसीको बुवा र रमित ढुङ्गानाको बुवा साथी हुनुहुन्थ्यो। मैले थाहा पाउँदा मेरो बुवाले सिनामंगलमा नै होटल व्यवसाय गर्दै आउनुभएको थियो।

म करिब १०/११ वर्षको हुँदासम्म सिनामंगलमा नै थिए। मलाई अहिले पनि त्यहाँको धेरै कुराहरू याद छ। सिनामंगलको स्थानीय कलेजबाट मैले आईएसम्मको अध्ययन गरेँ। मेरो एसएलसी २०४६ सालको हो।

सिनामंगलबाट एयरपोर्ट नजिकै भएकाले हामी प्लेन हेर्न र त्यसैमा खेल्न जान्थ्यौँ। पूरै खुल्ला थियो। बारबेर केहि थिएन। रनवेमा नै खेल्थ्यौ र प्लेन आएको छ कि छैन भनेर आकाशमा हेरेर पेप्शीकोला तिर जान्थ्यौँ। खुला गाउँ थियो। बागमतीमा पौडी खेल्थ्यौँ। पानी कञ्चन थियो।

त्यसबेला सिनामंगल मित्रपार्कतिर घरै त पातलो थियो। अहिलेको जस्तो घरै-घर हुन्छ भन्ने कुरा त्यो बेला कल्पनै गरिएको थिएन। बागमतीको पानी पौडी खेल्न मात्रै होइन, पिउन नै हुन्थ्यो। अवस्था त्यस्तो थियो।

म, भुवन केसीको भाइहरू उज्वल अनि प्रज्वल हामी तीन जना नै प्लेन भित्रै बसेर खेल्थ्यौँ। प्लेन आएर रोक्थ्यो। एयरपोर्ट नजिकै घर भएकोले खुरुरु कुदेर जान्थ्यौँ र प्लेनको सिटमा बसेर खेल्थ्यौँ। त्यसबेला डर त्रास भन्ने केहि पनि थिएन।

पञ्चायतकालको समयमा एकदमै आनन्द थियो। अहिले पो टेन्सन छ त! पहिला एउटा राजा थिए, अहिले ६ सय राजा भए। सबैले आ-आफ्नो बलबुता देखाउँदा खेरि एकदम कडा भयो। त्यतिबेला एकदम ओपन थियो। सिस्टममा चलेको थियो। अब त त्यस्तो समय देख्नै पाइँदैन। त्यो अहिले सम्झिदा एकादेशको कथा जस्तो लाग्छ।

मान्छेहरूले पञ्चायतकालमा थिचोमिचो भएको कुरा गर्छन्। मैले त्यस्तो अनुभव गर्न पाइनँ। थिचोमिचो गर्छ, पावरको दुरूपयोग गरेको भन्ने कुरा नेताहरूको मुखबाछ सुन्छु। तर, मैले पटक्कै देखिनँ। पावरको दुरूपयोग त मैले अहिले भएको छ। त्यतिबेला त सिस्टममा हुन्थ्यो। मैले थाहा पाउँदा फलानाले थिचोमिचो ग¥यो, फलानाले यस्तो ग¥यो, उस्तो ग¥यो देश बेच्यो भन्ने कहिल्यै सुनिएन।

त्यस बेला मान्छेहरू आ-आफ्नो काम गरिरहेका हुन्थेँ। गाइवस्तु प्रशस्त थिए। त्यसैमा हुन्थेँ भने केटाकेटीहरू स्कुल पढ्न जान्थेँ। कुनै आरोप प्रत्यारोपको कुरा आएन। दक्ष जनशक्ति भए जागिर पाइन्थ्यो। आफ्नो-पराई भन्ने हुँदैनथ्यो।

अहिले हाम्रै चलचित्र क्षेत्रमा हेरम् न, को-कसको मान्छे भनेको छ। चलचित्र विकास बोर्डको अध्यक्षदेखि सदस्यसम्मलाई नियुक्ति गरेको छ। पावरको दुरूपयोग अहिले भएको हो, त्यतिबेला भएको थिएन।

आमासँगै बसेर ‘आमा’ फिल्म हेरेँ
मेरो आमा फिल्महरू असाध्यै हेर्ने। त्यसकारण मैले पनि फिल्म हेर्न मौका पाउथेँ। मैले नेपालमा बनेका प्राय सबै फिल्म हेरिसकेको छु। मैले थाहा पाउँदा नेपाली फिल्महरू एउटा दुईटा मात्र बन्थेँ। पुराना फिल्महरू पटक-पटक प्रदर्शन हुन्थेँ।

भक्तपुरको नवदुर्गा हलमा निक्कै पछि ‘आमा’ फिल्म प्रदर्शन भएको थियो। त्यसबेला आमाले मलाई पनि साथै लिएर जानुभएको थियो। मैले हेरेको पहिलो फिल्म भएर मलाई अहिले पनि त्यो फिल्म हेर्दाको सम्झनाहरू आउँछ। त्यो फिल्मको हरेक पार्टहरू मलाई याद छ।

त्यसपछि माइतीघर, मनको बाँध लगायत थुप्रै फिल्म प्रदर्शनमा आए। २२ सालमा प्रदर्शनमा आएका यी फिल्महरू पछि फेरि प्रदर्शन गरिएको थियो। त्यस कारण मैले पनि ३७, ३८ सालतिर हेर्न पाएँ। फिल्म हेर्दाखेरि मलाई अलि-अलि त्यसैको रस पसेछ क्यारे।

फिल्मको पर्दामा हिरो हिरोइन नाच्दा मलाई पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। भुवन केसी सिनियर थिए। उनी पनि फिल्ममा काम गर्न थालेपछि मलाई झन् रहर पलायो। बच्चैबाट भुवन केसीलाई चिनेको र उहाँ फिल्मको पर्दामा आइसकेपछि भुवन केसी जस्तै पर्दामा देखिन्छु भन्ने मनमा आयो।

फिल्म क्षेत्रमा आउनुअघि म दरबारमार्गमा ‘माइ ब्रेक फास्ट’ भन्ने रेस्टुरेन्टमा काम गर्थेँ। त्यहिँ अहिलेका चल्तीका निर्देशक एभेरेष्ट सूर्य बोहोरा भन्ने पनि काम गर्नुहुन्थ्यो। उहाँ त्रिचन्द्र कलेजमा नाटक खेल्नुहुँदो रहेछ। उहाँसँगै मैले पनि त्रिचन्द्र कलेजमा नाटक खेल्ने मौका पाएँ। फिल्म क्षेत्रमा प्रवेशको विन्दु नै त्यहि बन्यो।

एउटा डाइलक बोल्दा तीन सय टिकट बेच्न हिँड्नुपर्थ्यो
मैले ५० भन्दा बढी नाटक खेलेको छु। पहिलो पटक ‘बौलाई दिदीको अधुरो तिहार’ भन्ने नाटक गरेको थिएँ। यो नाटकमा म खलनायकको चम्चे भूमिकामा थिएँ। त्यसमा मेरो जम्मा २ वटा डाइलग थियो।

यसमा मेन खलनायकमा बिष्णु भक्त फुयाँल हुनुहुन्थ्यो। उहाँको पछाडि लौरो लिएर उभिने रोल थियो मेरो। त्यो नाटक भरिमा मलाई २ वटा डाइलग बोल्न दिइएको थियो, जुन डाइलक अहिले पनि कण्ठ छ।

मेरो पहिलो डाइलक ‘ऊ मास्टरनी नानी आयो’ र अर्को मास्टरनी नानीलाई छेकेर ‘अब कहाँ जान्छेस त मास्टरनी नानी’ भन्ने थियो।

त्यो दुई वटा डाइलग बोल्न पाएबापत तीन महिनासम्म काठमाडौंमा टिकट बेच्न हिड्नुपर्थ्यो। किनभने नाटक गराउनेको शर्त नै त्यस्तो हुन्थ्यो। त्यहि भएर तीन महिनासम्म काठमाडौंका चोक-चोक, पसल-पसलमा टिकट बेच्न हिँड्नुपर्थ्यो। म हिँडेको पनि छु।

अहिले त धेरै कलाकारलाई स्वर्ग छ। संघर्ष भन्ने नै थाहा छैन। पहिला एउटा डाइलक पाउँदा ठूलै युद्ध जितेको अनुभूति हुन्थ्यो। जमाना त्यस्तो पो थियो त!

तीन महिनासम्म हिँडेर दुईटा डाइलग बोल्न पाएपछि मैले पनि आफैँ नाटक लेखे। अनि उनीहरूलाई नै नाटकमा खेलाएर तीन महिनासम्म उनीहरूलाई पनि टिकट बेच्न हिडाएँ। किनभने अघिल्लो नाटकमा कहाँ-कहाँ टिकट बेच्ने रैछ भनेर थाहा पाएको थिएँ मैले। अनि दोस्रो नाटक आफैँ लेखे र आफैँ हिरो बने।

त्यसपछि उनीहरूलाई नै खेलाउनका लागि उल्टै टिकटे बेच्न हिडाएँ। त्यतिबेला के हुन्थ्यो भने नाटक बनाउने अनि टिकट बेच्न हिँडाउने। मैले सुरु मै दिमाग चलाए। ‘सहिदकी आमा’ नामक किताब किनेर घरमा लिएर आए र नाटक लेखेँ। जुन नाटक अत्यधिक चल्यो पनि। मैले त्यतिबेला राष्ट्रिय नाचघरमा ‘अन्धबेग’ भन्ने नाटक ७६ दिनसम्म चलाएँ।

नाटक हेर्ने दर्शकको क्रेज त्यति थियो त्यो बेला। त्यसबेला नाटक अति चल्थेँ। एउटै नाटक कम्तिमा २० दिनदेखि सय दिनसम्म मञ्चन हुन्थ्यो। मैले सुरुमा गरेको नाटक ‘बौलाई दिदी’ सय दिनसम्म मञ्चन गरेको थियौँ। नाटकमा दर्शकको आफ्नै क्रेज थियो। अर्को ‘तुवालोले ढाकेको बस्ती’ नामक नाटक पनि ५० शो कटेको थियो। हलको भाडा तिरेर पनि नाटकबाट राम्रै कमाइ हुन्थ्यो।

म सानैबाट आफैँ कार्यक्रमको लिड गर्ने चाहना राख्ने मान्छे हो। तीस वर्षअघि मैले ‘डान्सिङ एण्ड सिङगिङ’ भन्ने कार्यक्रम प्रज्ञा एकेडेमीमा गर्ने भन्ने कुरा भयो। कार्यक्रमको सबै तयारी पनि भयो। टिकट मारामार बिक्यो पनि। त्यसबेला मैले डान्स गर्ने कलाकारहरू त सबै बटुली सकेको थिएँ। तर गाउने मान्छेले चाहिँ अन्तिम अवस्थामा आएर कोही पनि आइदिएनन्। उनीहरूले मलाई धोका दिए।

एकेडेमीको हजार वटा सिट भरिएर दर्शकहरू भुइँमा बसेर हेरिरहेका थिए। डान्स मात्रै देखाइयो गाउने मान्छे कोही आएनन्। अनि कार्यक्रम हेर्न आउनेहरूले डान्स मात्रै गायन खै भन्न थाले। यसको जवाफ मसँग थिएन। आफूले बोलाएको मान्छे कोही आइदिएनन्। नदिएपछि उपस्थित भएका दर्शकहरूले एकेडेमी नै तोडफोड गरे, पर्दामा आगो लगाए। म कसरी-कसरी त्यहाँबाट भागेँ।

उपस्थित दर्शकहरूमध्ये केहीले प्रहरीमा मुद्दा हालेछन्। प्रहरीले पक्रियो र ठगीको मुद्दा चलायो। त्यतिबेला अहिलेको प्रशस्ती कलाकारहरू थिएनन्। सीमित कलाकारहरू थिए। तर उनीहरू नै कार्यक्रममा नआइदिएपछि कति म फसेँ। दर्शकले गरेको क्षतिपूर्ति मैले भर्नुपरेको थियो। त्यतिबेलाको समय र अहिलेमा धेरै फरक छ।

फिल्मका लागि राजा वीरेन्द्रले छ सय आर्मी दिए
मैले फिल्म बनाउँदाका हरेक क्षणहरू मेरा यादगार छन्। त्यतिबेला फिल्म बनाउँदा अहिलेजस्तो भीएफएक्सको सिस्टम आइसकेको थिएन। मैले आर्मी फिल्म निर्माण गर्दा रियल आर्मीलाई नै प्रयोग गरेको हुँ। फिल्मका लागि छ सय आर्मी चाहिएकोमा मैले दरबारमा बिन्तीपत्र लेखेँ।

राजा वीरेन्द्रले छ सय आर्मी र फिल्मका लागि प्रयोग हुने सबै सामग्री उपलब्ध गराइदिनुभयाे। त्यसबाहेक घोडेजात्राको फुटेज खिच्न पनि अनुमति दिनुभयो। घोडेजात्रामा आर्मीको हेलिकप्टरदेखि लिएर सबै सामग्रीहरू टुँडिखेलमा ल्याएका हुन्थेँ। त्यहि खिच्नका लागि म सबेरै त्यहाँ पुगे। टुँडिखेलको चौरबाट सबैतिर खिच्दा राम्रो सिन आउँथ्यो।

तर, घोडेजात्रा हेर्न राजा वीरेन्द्रको परिवारसहित आउने भएपछि चौरमा जान नमिल्ने भयो। त्यहि भएर मैले राजा बसेकोतिरबाट घोडा दौडाएको सिनहरू खिचाएँ। अनुमति नै दरबारबाट आएकाले राजालाई फिल्म सुटिङ हुँदैछ भन्ने थाहा थियो। अडियन्स बसेको तर्फबाट मात्रै फिल्म खिचिरहेको देखेपछि राजा वीरेन्द्रले मलाई बोलाउनुभो।

उहाँले ‘यहाँबाट फिल्म खिच्दा राम्रो कि चौरमा जाँदा?’ भनेर सोध्नुभयो। मैले ‘चौरमा जाँदा सरकार’ भनेँ। त्यसपछि उहाँले चौरमा जाने स्वीकृति दिनुभयो अनि म र क्यामेराम्यान शिव ढकाल चौरमा जान पायौँ। त्यो समय यति मजाले दृश्य खिचियो कि म कहिल्यै बिर्सन सक्दिनँ।

टुँडिखेलपछि अर्को सुटिङ खरिपाटीको क्याम्पमा फिल्मको एक महिना सुटिङ गरेँ। यो सुटिङ हेर्नका लागि तत्कालीन युवराज दीपेन्द्र सरकार पनि आउनुभएको थियो। उहाँले ‘केहि अप्ठ्यारो परे भन्नु’ भन्नुभएको थियो। छ सय आर्मीलाई फिल्ममा समेट्नका लागि दरबारबाट धेरै सहयोग भयो। 

एनालग सिस्टममा खिचेको भिडियोहरूलाई धुलाउन र सम्पादन गर्न भारत नै लैजानुपर्थ्यो। त्यसले गर्दा फिल्म फाइनल भएर आइपुग्न लामो समय लाग्यो। फिल्म हेर्न वीरेन्द्र सरकार निकै उत्सुक हुनुहुन्थ्यो। फिल्म तयार भएर आएपछि अहिलेको संसद भवनमा राजपरिवारलाई देखाउनका लागि प्रिमियरको तयारी गर्दै थिएँ। प्रिमियर तोकेको एक महिनाअघि नै दरबार हत्याकाण्ड भयो।

त्यसपछि त कुरै भएन। उहाँहरूले फिल्म हेर्नै पाउनुभएन। त्यो अहिले पनि मनमा खट्किरहेको छ। राजपरिवारको सहयोगले निर्माण गरेको फिल्म ‘आर्मी’ उहाँहरूलाई नै देखाउन नपाएकोमा अहिले पनि पछुतो लाग्छ। किनभने दरबारले मलाई ६ सय आर्मीको दृश्य छायांकनको स्वीकृति नदिएको भए फिल्म बनाउने सम्भव नै थिएन।

अनि हरेक हलमा सय दिन फिल्मले मनाउने पनि थिएन। ओरिजिनल आर्मी राखेर फिल्म सुट गरेको थिएँ। जुन फिल्मको जस्तो यादगार कहिल्यै छैन र भएन पनि!

१९ वर्षको उमेरमा नै निर्देशक
मैले दुईवटा भिडियो फिल्म, २७ वटा टेलिफिल्म बनाएपछि मात्रै फिचर फिल्म निर्देशनमा हात हालेको हो। पहिलो फिल्म ‘राजकुमार’ २०५२ सालमा निर्देशन गरेँ। त्यो फिल्ममा मैले सम्राट सापकोटालाई हिरो लिएको थिएँ।

त्यतिबेला पाको उमेरकाहरूले मात्र फिल्म निर्देशन गर्थे। मलाई उनीहरूले गिज्याउँथे र हेप्थे पनि। तर मैले आफ्नो कर्म छाडिनँ। त्यो समयमा नेपालमा वर्षको पाँच वटा जति फिल्म बन्थ्यो।

६ बैशाख, २०८१, १२:४३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।