एकीकृत समाजवादीको रणनीति : सत्ता वार्गेनिङमा ओली-प्रचण्ड तर्साउने, कांग्रेस लोभ्याउने

एकीकृत समाजवादीको रणनीति : सत्ता वार्गेनिङमा ओली-प्रचण्ड तर्साउने, कांग्रेस लोभ्याउने

काठमाडौं : गत आइतबार सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले दाबी गरे। 

नाउपाभित्र संरक्षक रेशम चौधरी पक्षधरका सांसद लक्ष्मणकिशोर चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरका संसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। जसमा लक्ष्मणकिशोरलाई नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको थियो भने कैलाशलाई एमाले र माओवादी केन्द्रको समर्थन थियो।  

त्यसको दुई दिनपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै सांसदले गरेको दाबी अस्वीकृत गरे। यसबीचमा एकीकृत समाजवादीले 'डबल रोल'को भूमिका निर्वाह गर्यो। 

गत मंगलबार  सुदूरपश्चिममा एकीकृत समाजवादीले नाउपाका सांसद लक्ष्मणकिशोरलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझायो। जबकि दुई दिनअघि लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए। 

सत्तारुढ गठबन्धनमा आफूहरूलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन लक्ष्मणकिशोरलाई समर्थन दिएको थियो। तर, काठमाडौंमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको बताइएको थियो।

आफूहरूले सातै प्रदेशमा कतै पनि मुख्यमन्त्री नपाउने देखेपछि एकीकृत समाजवादीले सुदूरपश्चिमको नेतृत्वको लागि प्रयत्न गर्न थाल्यो। त्यसका लागि उसले सत्ता गठबन्धनभित्र एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन सुदूरपश्चिमको मुख्यमन्त्री नदिए गठबन्धन नै छोड्ने सम्मको बार्गेनिङ गरिरह्यो। 

यही बीचमा अध्यक्ष माधव नेपालसहितका शीर्ष नेताहरूले कोशी र सुदूरपश्चिममा कांग्रेससँग मिलेर सत्ता गठबन्धनलाई धक्का दिने भन्दै ओली-प्रचण्ड तर्साइरहेका थिए। 

कांग्रेससँगको गठबन्धन तोडेका प्रधानमन्त्री प्रचण्ड पनि संसदको मतका कारण एकीकृत समाजवादीको मागहरूलाई खुरूखुरू मान्न तयार हुनुपर्ने स्थिति छ। नभन्दै आज बिहान ओली, प्रचण्ड र माधवसहितका नेताहरूले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरे। 

त्यसका लागि एकीकृत समाजवादीले सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि बढाउने निर्णय गरिसकेको छ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीले सुदूरपश्चिमको नेतृत्व नाउपालाई दिने सहमति गरेका थिए।  तर, माधव नेपालले मुख्यमन्त्री नदिए गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएपछि प्रचण्ड र ओली यु–टर्न भए। सुदूरपश्चिममा ओली र प्रचण्डले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने बचनबाट पछि हटेका हुन्। 

एकीकृत समाजवादीले गठबन्धन छोड्दा त्यसको प्रभाव अन्य प्रदेशहरू र केन्द्र सरकारमा समेत पर्ने भएकाले प्रधानमन्त्री दाहाल र ओली झस्किए। यता एकीकृत समाजवादीको बार्गेनिङको कारण  सुदूरपश्चिमबाट उदय भएको नाउपाले भने आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसक्दा भागमा परिसकेको मुख्यमन्त्री पनि गुमाउने अवस्थामा पुग्यो।  

सुदूरपश्चिममा एकीकृत समाजवादीले दीर्घ सोडारीको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरिसकेको छ। तर अझैँ एमालेमा भने अलमल देखिन्छ। एमाले अध्यक्ष केपी शर्मा ओली एकिकृत समाजवादीलाई नेतृत्व दिन सहमत भए पनि सोडारीको पक्षमा सहमत देखिएका छैनन्।

सोडारी मुख्यमन्त्री हुन एमाले र माओवादी केन्द्रको समर्थन चाहिन्छ। ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य बहाल छन्। एकिकृत समाजवादीको ४ जनामात्रै सांसद छन्।  

प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नाउपाका ७, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । १८ सिट भएको नेपाली कांग्रेस भने प्रतिपक्षमा छ। तर, बार्गेनिङ गरेरै भएपनि एकीकृत समाजवादी भने सत्तामै देखिरहेको छ।

५ बैशाख, २०८१, २२:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।