जब नारायण दाहालले भने- 'प्रचण्डको स्वीकृति त अनिवार्य चाहिन्छ'

जब नारायण दाहालले भने- 'प्रचण्डको स्वीकृति त अनिवार्य चाहिन्छ'

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकै कारण पदीय जिम्मेवारीहरू नआएको प्रष्टीकरण दिएका छन्। 

सिंहदरबारस्थित संसद्को कानुन, न्याय तथा मानवअधिकार समिति सभाकक्षमा मंगलबार सञ्चारकर्मीहरूसँग उनले आफूले क्षमता बनाएकै कारण जिम्मेवारीहरू पाएको दाबी गरे। अहिलेसम्म गरेका काम कसैमाथि निर्भर नभई गरेको पनि उनले बताए। 

राष्ट्रपतिबाट मनोनीतको कोटामा राष्ट्रिय सभा सदस्य पद पाएका दाहाल हालै अध्यक्ष निर्वाचित भएका हुन्। पार्टी र संसद्मा आफूले पाएका जिम्मेवारी ‘प्रचण्डको भाइ भएकाले’ भन्ने टिप्पणी भइरहँदा उनले सञ्चारकर्मीसँग तिक्तता पोखे। 

पार्टी अध्यक्ष प्रचण्ड भएकाले उनको स्वीकृति विना कसैले पनि कुनै जिम्मेवारी नपाउने उनले प्रष्ट पारे। 
 
उनले भने, ‘प्रचण्डले कुनै जिल्लाको इन्चार्ज बनाउनका लागे भाई भएको हुनाले बनायो यो त्यसको भूमिका नै होइन भनेर कसैले प्रश्न उठाउँछ भने म मैले जवाफ दिने के भन्ने हुन्छ। मैले आजसम्म जे गरेको छु आफ्नै बलबुतामा गरेको छु। अब पार्टीको नेता उहाँ हो, उहाँले स्वीकृति नदिएसम्म म मात्र होइन कसैले पनि कुनै जिम्मेवारी पाउँदैन। मलाई मात्रै हो र, अस्ति प्रदेशको सह-इन्चार्जको निम्ति नाम लेख्दा, भाई भएर पायो रे, त्यसको जवाफ के दिनु?’ 

अर्को प्रसंगमा उनले देशमा केही कानुनी जटिलता भएको भन्दै समाधानका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताए। 

‘हामीसँग केही कानुनी जटिलता छ, यो कुनै व्यक्ति र प्रवृत्ति विशेष होइन राष्ट्रिय राजनीति अवस्थाको कारणले पनि हुन सक्छ,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेको आठ वर्ष भइसकेको छ। बन्नुपर्ने कानुन बनेको छैन, भएका कानुन पनि अगाडि बढ्न सक्या छैन। यो हाम्रो राजनीतिक अवस्थाको कारणले हो की के हो, त्यो हामी आफैंमा खोज्नु प¥यो, अरूमा खोजेर हुँदैन।’ 

यस्तै, उनले संसदका दुवै सदनबाट अपेक्षा अनुसारको काम नभए पनि चैत ३० गतेको बैठकसम्म आइपुग्दा कुनै पनि विधेयकहरू थाती नरहेको बताए। 

उनले भने, ‘राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट अपेक्षा गरेअनुसारको काम भएन भन्ने कुराहरू आइरहेको र चासोको विषय छ। तर, पनि राष्ट्रिय सभामा जे जस्ता विषयहरू थिए, विधेयकहरू ३० गतेको बैठकसम्म आइपुग्दा हामीसँग थाती छैन। यस हिसाबमा हेर्दा राष्ट्रिय सभाले आफ्नो काममा ढिलाइ गरेको देखिँदैन।’ 

४ बैशाख, २०८१, १७:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।