कमाइको १० प्रतिशत आफ्ना बा-आमाको लागि खर्च गर्नुपर्छ : मन्त्री चौधरी

कमाइको १० प्रतिशत आफ्ना बा-आमाको लागि खर्च गर्नुपर्छ : मन्त्री चौधरी

सुनसरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बा-आमाका लागि खर्च गर्नुपर्ने बताएकी छन्।

सुनसरीको गढी गाउँपालिका-६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन्।

‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो। अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छ’, उनले भनिन्।

ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताइन्। सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरू हुने विश्वास व्यक्त गरिन्।

त्यस्तै अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताइन्। त्यस्तै कतिपय अपाङ्गता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताइन्।

मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको बताइन्।

‘अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु। जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपांगता भएका व्यक्तिहरूको जनसंख्या २.२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्नेछ, ’ मन्त्री चौधरीले भनिन्, ‘समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ।’

महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्थाहरू रहने व्यवस्था रहेको भन्दै उहाँले ती संघ संस्थाहरूले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको समेत उनले बताइन्।

४ बैशाख, २०८१, १४:०८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।