सुप्रिम सहकारी प्रकरणमा पुनको इन्कारी बयान, भने- ‘पेस्की भौचरमा दीपेश छ, मेराे नाम दीपेशकुमार हो’

सुप्रिम सहकारी प्रकरणमा पुनको इन्कारी बयान, भने- ‘पेस्की भौचरमा दीपेश छ, मेराे नाम दीपेशकुमार हो’

बुटवल : बुटवलको राजमार्ग चौराहमा रहेको सुप्रिम बचत तथा क्रृण सहकारी संस्था लिमिटेडमा भएको आर्थिक अपचलन बारे प्रहरीले अनुसन्धान सकाएर बुझाएको प्रतिवेदनपछिद सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा २८ जना विरुद्ध मुद्दा दर्ता गर्ने राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। सरकारी वकिलको कार्यालयले २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सहकारी ठगी प्रकरणमा सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जिवी) राई सहित बुटवलका व्यवस्थापक सागर थापा अहिले फरार छन्। अदालतमा दायर भएको मुद्दामा प्रतिवादी विरुद्ध ८६ करोड १८ लाख भन्दा बढीको बिगो दावी गरिएको छ।

सरकारी वकिलको कार्यालयले अदालतमा भने पाँच जनालाई मात्र मिसिल साथ लगेको थियो। त्यसमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश कुमार पुनलाई पनि उपस्थिति बनाइएको थियो। तर, उनले पटक-पटक सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नता नभएको बयान दिएका छन्।

२०७६ साल कार्तिक १६ गतेको साधारण सभाबाट सचिव बनेका दिपेश कुमार पुनले आफू सचिव बनाउँदा समेत थाहा नभएको बयानमा भनेका छन्। सचिव भएको थाहा पाएपछि आफूले राजीनामा बुझाएको तर स्वीकृत ढिला भएको उनको दाबी छ।

‘मैले राजीनामा बुझाएको केही महिनापछि कोभिडको कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन। कोभिडको बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा प्राप्त भइसकेको छ। कोभिडको कारणले गर्दा सञ्चालक र कर्मचारीसँग भौतिक भेट भएको छैन, तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ, सोही दिन राजीनामा दिएको मितिदेखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ भनेर मलाई भनिएको थियो’ उनले बयानमा भनेका छन्।

साथै उनले संस्थाबाट पेश्कीको रूपमा गएको रकम पनि आफूले नलगेको बताएका छन्।

बयानमा उनले भनेका छन्- ‘मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख रुपैयाँ लिएको होइन। उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन। पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेशकुमार पुन भएको हुँदा नाम समेत फरक छ।’

बयानको पूर्ण पाठ
म बाल्यकाल देखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु। देशमा राजनीतिक परिवर्तनसँगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र) को बारेमा अध्ययन गरेको थिएँ।

सोही क्रममा मैले बुझेसम्म नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामीण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको आर्थिक अवस्था वृद्धि गर्दै जनतालाई आत्मनिर्भर उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तन गर्न सहकारीले सहयोग पु¥याउन सक्छ। यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनु पर्छ, यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो।

यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रुपमा अतिथिको रुपमा बोलाइएको थियो। उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ।

उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू लगायत साधारण सभामा उपस्थित हुनुहुन्थ्यो।

उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भए पश्चात सहकारीको बारेमा मैले जानेबुझे सम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ।

म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रमम समापन नहुँदै विदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिस्टरमा हस्ताक्षर गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थिति रजिस्टरमा हस्ताक्षत गरी म विदा भई निस्केको हुँ। मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन।

म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियतमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिस्टरमा हस्ताक्षर गरेकोसम्म मलाई याद छ। अन्य कुराहरू मलाई याद भएन।

सचिवको वा अन्य के-कसोमा हस्ताक्षर देखिएको हो मलाई याद भएन। कार्यक्रम सकिएको करिब २ महिनापछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाउँ तपाईंको आफन्तहरू पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रूपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्वअध्यक्ष गितेन्द्र बाबु राई (जीबी राई)ले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए।

मैले गितेन्द्रबाबु राई, अन्य परिवार र साथीभाइहरूसँग सल्लाह गरी खबर गरौँला भनेको थिएँ, उक्त खबर पाएपश्चात मैले गितेन्द्रबाबु राईसँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन।

सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाम सचिवको रूपमा राखी पठाएका छन् भन्ने जानकारी पाएपछि मैले परिवार र साथीभाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा रुपन्देहीको स्थायी बासिन्दा पनि होइन र कानुनतः रुपन्देहीमा रहेको सहकारीमा सञ्चालक समितिमा बस्न मिल्दैन भन्ने कुरा भएपश्चात मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ।

मैले राजीनामा बुझाएको केही महिनापछि कोभिडको कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन।

कोभिडको बीचमा संस्थाका कार्यकारी सँग फोन गरी बुझ्दा ‘तपाईंको राजीनामा भइसकेको छ। कोभिडको कारणले सञ्चालक र कर्मचारीसँग भौतिक भेट भएको छैन, तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ, सोही दिन तपाईंले राजीनामा दिएको मिति देखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ। तपाईंको यसमा कुनै पनि आर्थिक र कानुनी दायित्व हँुदैन र राजीनामा अनुमोदनको जानकारी सहकारी विभागलाई दिन्छौँ। तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नुभएको पनि छैन र तपाईं सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन, पिर नगर्नुस्’ भनेका थिए।

त्यसपश्चात मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिनँ, पछि मेरो राजीनामा साधारण सभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए।

मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख रुपैयाँ लिएको होइन। उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन। पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेशकुमार पुन भएको हुँदा नाम समेत फरक छ। मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन। मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारी सम्म छैन र कुनै रकम मैले लिएको पनि छैन।

यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारिस, कारोबर तथा निर्णय गरेको छैन। यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनीहरू सँग म व्यापारिक साझेदार समेत छैन।

४ बैशाख, २०८१, ०९:०२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।