सरकारी वकिलको अभियोग पत्र भन्छ- ‘सुप्रिम सहकारीको दुई करोड रविको नाममा ग्यालेक्सीमा’

सरकारी वकिलको अभियोग पत्र भन्छ- ‘सुप्रिम सहकारीको दुई करोड रविको नाममा ग्यालेक्सीमा’

बुटवल : सुप्रिम सहकारी ठगीमा २८ जनालाई अभियुक्त बनाउँदै दायर भएको अभियोग पत्रमा गृहमन्त्री रवि लामिछानेको नाम प्रतिवादीमा छैन। तर संस्थाबाट प्रक्रिया पूरा नगरी ऋण लग्नेको सूचीमा भने उनको नाम छ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा गोर्खा मिडिया प्रालीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो।

अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रालीको नाममा प्रक्रिया पुरा नगरी ऋण प्रवाह भएकाहरूको नाम र रकम उल्लेख छ।

सो सूचीको सातौं नम्बरमा २०७७ चैत १८ गते रवि लामिछानेको नाममा रु २ करोड व्यापार कर्जा स्वीकृत भई एक करोड ९६ लाख गोर्खा मिडिया नेटवर्क प्रालिको खाता नम्बर ०४०१०१००००५७७ मा ग्लोबल आइएमइ बैंकको भौचरमार्फत जम्मा भएको कारोबार देखिने कागजपत्र मिसिलमा संलग्न गरिएको देखिन्छ।

कैफियतमा संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पुरा नगरी ऋण लगानी गरेको उल्लेख छ। उनको भौचर सदर सागर केसीले गरेका थिए रकम रोशनी गुरुङले जम्मा गरेकी थिइन्। सागर र रोशनी भने प्रतिवादी छन्।

ऋण प्रवाह भएको समयमा रवि ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया नेटवर्क प्रबन्ध निर्देशक तथा सेयर सदस्य थिए।

प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान सकाएर प्रस्तावित राय सुझाव बुझाए पनि रविलाई प्रतिवादी नबनाएकोबारे उकेराले आइतबार समाचार प्रकाशित गरेको थियो। उनीसँग प्रहरीले ऋणको विषयमा सामान्य सोधपुछ समेत गरेन।

गोर्खा मिडिया नेटवर्कको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका उप महामन्त्री विपिन आचार्यको नाममा समेत प्रक्रिया पुरा नगरी ऋण प्रवाह भएको अभियोग पत्रको विवरणमा देखिन्छ।

सो विवरण अनुसार आचार्यको नाममा एक करोड ५६ लाख कर्जा स्वीकृत भएर एक करोड ५० लाख गोर्खा मिडियाको खातामा जम्मा भएको उल्लेख छ। २०७८ पुस १२ मा कारोबार भएको देखिन्छ। त्यो बेलामा विपिन ग्यालेक्सीमै काम गर्थे। रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि उनी पनि राजनीतिमा लागेका हुन्।

गोर्खाको नाममा जीवी राई, छवीलाल जोशी, कुमार रम्तेल, भूपेन्द्रबाबु राई लगायत गरेर १० करोड ९९ लाख सहकारीको बचतकर्ताहरूको रकम अनधिकृत रूपमा ग्यालेक्सी टिभीमा लगानी गरेको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा जीवी राई, ओमप्रकाश गुरुङ, दुर्गा चापागाईँ, दीपेशकुमार पुन, कुमार रम्तेल, भविश्वर अर्याल, निता थापा मगर, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका,आशिस आनन्द, मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष् रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई सहकारी ठगीमा प्रतिवादी बनाइएको छ।

३ बैशाख, २०८१, २३:५१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।