'वामपन्थी भन्ने अनि भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एमालेले एकता गर्दैन'

'वामपन्थी भन्ने अनि भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एमालेले एकता गर्दैन'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको चर्चामाथि प्रश्न उठाउँदै अहिले त्यसको आवश्यकता नपरेको बताएका छन्। 

आज बिहान एमालेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वामपन्थी एकताले नयाँ गठबन्धनको सरकार पनि नबन्ने र त्यसले देश पनि नचल्ने भनेर टिप्पणी गरे।

वामपन्थी एकताको बिषय आफ्नो सरोकारको भएको बताउँदै अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने काम आफूले बुझेको बताए।  वामपन्थी एकताको महत्व बुझेरै त्यसको विस्तार र एकताबाट संसदमा दुई तिहाइको अवस्थामा दललाई पुर्याएको उनको छ। 

ओलीले भने, ‘अहिले भने सुशासन समृद्धिको बाटोतर्फ अघि बढ्ने, नराम्रो काम नगर्ने भनेर प्रतिबद्धता जनाउने राष्ट्रिय शक्तिको एकता आवश्यक छ। आज वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ।’

ओलीले माओवादी र एकीकृत समाजवादीलाई कटाक्ष गर्दै थपे, ‘वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरूसँग एकता गरेर पार्टी बलियो हुँदैन, यस्ता शक्तिहरूसँग एकता गरेर पार्टी बलियो हुन्छ भन्ने भ्रम कसैले राख्नुहुँदैन। पार्टी बलियो बनाउन संगठन विस्तार गर्नुपर्छ, सुदृढ गर्नुपर्छ।’

एमालेले एकता नै गर्दैन भन्ने अर्थ नलागोस् भन्दै ओलीले भने, ‘एकता परेका बखत गर्छौँ, तर छानेर।’ 

३ बैशाख, २०८१, १४:३२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।