अत्याधुनिक बन्दै बुटवलको बसपार्क : फ्रि इन्टरनेटदेखि स्नान गृह र बहुतले पार्किङसम्मको योजना

अत्याधुनिक बन्दै बुटवलको बसपार्क : फ्रि इन्टरनेटदेखि स्नान गृह र बहुतले पार्किङसम्मको योजना

बुटवल : बसपार्क भन्ने बित्तिकै तपाईंहरूलाई अस्तव्यस्त ठाउँ, कोलाहल, फोहोर स्थान दिमागमा आउनसक्छ। धुलो, धुवा, चर्को कर्कस आवाज पनि बसपार्क भन्न साथ मनमा आउँछ।

हुन पनि देशका अधिकांश स्थानमा भएका बसपार्क यस्तै छन्। धुँवा धुलो मात्र होइन, फोहोर र दुर्गन्धित छन्। अझ कतै त घाम लाग्दा धुलाम्मे अनि पानी पर्दा हिलाम्मे। शौचालयको कुरा त गरि साध्य नै छैन।

तर, बुटवलको बसपार्कमा अब तपाईं पुग्दै हुनुहुन्छ भने त्यहाँ फरक पाउनुहुनेछ। औद्योगिक र व्यापारिक नगरी बुटवलको थप चिनारी अब बुटवलको सुविधा सम्पन्न बसपार्कले गर्दैछ।

बसपार्कलाई सुन्दर र व्यवस्थित बनाउने योजना अघि बढेको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको सक्रियतामा बुटवलको बसपार्क बुटवलको थप चिनारी बन्ने गरी विकास हुँदैछ।

त्यो कसरी ?
मनिसहरूको बढि भिडभाड हुने बसपार्कलाई सबैभन्दा पहिले सुरक्षाका दृष्टिकोणबाट अव्बल बनाइएको छ। बसपार्कका विभिन्न स्थानमा सिसिटिभि जडित क्यामराले यात्रु र सवारीको निगरानी गरेको छ। बसपार्कमा हुनेसक्ने चोरी डकैती र लुटपाटका घटनामा यसले कमी ल्याउने विश्वास गरिएको छ।

प्रविधिको विकासले तीव्रता पाएसँगै प्रविधिसँग पनि बसपार्कलाई जोडिएको छ। यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै बसपार्कमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ। यसबाट धेरै यात्रुले लाभ लिइरहेका छन्।

‘सधैँ डाटाको प्रयोग सम्भव हुँदैन। त्यसमाथि नेपालमा इन्टरनेट शुल्क महंगो छ। बसपार्कमा जडान भएको फ्रि वाईफाईबाट धेरै सजिलो भएको छ। सवारी साधन बसपार्कबाट छुट्नुअघिको समय कटाउन सहज भएको छ’, बुटवलको बसपार्कमा भेटिएर गुल्मी मालिका गाउँपालिका-६ जान लागेकी रचना गौतमले भनिन्।

कुनै समय बसपार्कको गुल्मी काउन्टरमा जाँदा दुई औंलाले नाक थुनेर टिकट काट्नुपर्ने अवस्था थियो। नजिकै रहेको शौचालयबाट आउने गन्धले त्यहाँ पुग्ने यात्रु माथी होइन, सवारी चालक र टिकट काउन्टरका कर्मचारी समेत आजित थिए। तर अहिले पहिले जस्तो छैन। दैनिक हुने सरसफाईले शौचालय व्यवस्थित हुँदै गएको छ।

सरसफाईको क्षेत्रमा बसपार्कमा उल्लेख्य काम भएका छन्। बसपार्क साच्चै सुन्दर बनेको छ। यसमा यातायात व्यवसायीको सहकार्य छ। पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवल रोजगारीका लागि भारत छिर्ने एउटा नाका समेत हो। पुर्व पश्चिमबाट मात्र होईन लुम्बिनीका पहाडी जिल्लाबाट आउने यात्रुहरुले बुटवलको बसपार्कमा भिडभाड बढ्ने गर्दछ।

बढ्दो भिडलाई ध्यानमा राखेर अहिले लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन शुद्ध पिउने पानी, व्यवस्थित खाजा घर, शौचालय सहितको स्नानघर बनाउने योजनामा बुटवल उपमहानगरपालिका छ।

‘यात्रुको चापलाई ध्यानमा राख्दै व्यवस्थित बसपार्क बनाउने योजनामा हामी लागेका छौँ। यात्रु आएर बुटवल बसपार्कमा झर्ने भएकाले बुटवलको परिचय के हो भन्ने बसपार्कबाटै सन्देश दिने गरी विभिन्न योजनाहरू निर्माण र कतिपय कार्यान्वयनको चरणमा छन्,’ उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले भने- ‘यात्रुहरूलाई सहज बनाउने यी योजना कार्यान्वयन आएपछि बसपार्कले बुटवलको नयाँ चिनारी थप्नेछ।’

नगरप्रमुख पाण्डेय बुटवलमा यात्रा गरेर आएपछि नुहाउन होटलमा जानुपर्ने बाध्यताको अन्त्य पनि गर्न थालेको बताउँछन्।

‘यात्रुहरूलाई स्नान गराउने गरी बसपार्कमा भवन निर्माणधीन अवस्थामा छ। यो सञ्चालन पछि होटलमै पुगेर फ्रेस हुनुपर्ने बाध्यताको अन्त्य हुनेछ’, उनले भने।

अत्याधुनिक बन्नेछ स्नानगृह
बसपार्कमा अगाडि मुख्य राजमार्गको बनेको भवन बाहेक अधिकांश भवन पुराना छन्। कतिपय जीर्ण अवस्थामा छन्।

कुनै-कुनै काउन्टरमा बसेर काम गर्न समेत काउन्टरका कर्मचारीलाई अप्ठ्यारो समेत छ। यात्रुको चाप त्यसपछि भौतिक पूर्वाधार सम्पन्न नहुँदा सबैले समस्या भोग्दै आएका छन्। यहि कारण बुटवलले आधुनिक शौचालय सहितको स्नान गृहको अवधारणा ल्याएको हो।

यात्रु लक्षित उक्त योजना अहिले बसपार्कमा १ करोड ८० लाख ८४ हजार रुपैयाँ लागतमा अघि बढिरहेको छ। सुविधा सम्पन्न स्मार्ट स्नान गृह सहितको शौचालय निर्माण कार्य तीव्र भएको छ।

१ हजार ७२९ वर्गफिटमा निर्माणाधीन स्नान गृहको काम अहिले ८४ प्रतिशत सकिएको छ। सैनामैनाको सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्स्ट्रक्सनले २०८० वैशाख ३१ मा ठेक्का सम्झौता गरेको यो योजनाको निर्माण सम्पन्न अवधि २०८१ असार १५ सम्म हो।

स्नान गृहमा महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याड समेत राखिने योजना बनाइएको छ। साबुन, स्याम्पु सहितका सामान्य तर अति आवश्यक वस्तुहरू त्यहाँ हुनेछन्।

पुरुष, महिला र अपांगमैत्री स्नानगृह सहितको शौचालयका अलवा विश्राम स्थल पनि त्यहाँ बन्नेछ। स-साना बच्चाहरूलाई केहीबेर त्यही रम्ने गरी उपयुक्त स्थल समेत बनाउन लागिएको छ।

स्नान गृहको निर्माण पूरा गरेपछि यसलाई कसरी चलाउने भन्नेमा छलफल गरिने बताइएको छ। उप-महानगरपालिकाका आफैँ चलाउने वा कार्यविधि बनाएर सञ्चालनका लागि दिने भन्नेबारे पछि तय गरिने नगरप्रमुख पाण्डेयले बताए।

अरु थप बन्दैछन् बसपार्कमा संरचना
बसपार्कमा स्नानगृह निर्माणधीन अवस्थामा रहे पनि अरु योजनाहरू पनि क्रमश अगाडि बढाउने उप-महानगरपालिकाको योजना छ। बढ्दो सवारीको भीड कम गर्न बसपार्कको दक्षिण तर्फ कार पार्किङ सहितको ७ तले व्यवस्थित व्यवसायिक भवन निर्माण गर्न डीपीआर तयार भएको छ।

सुन्दर सहरका रूपमा स्थापित बुटवल उप-महानगरपालिकालाई जथाभाबी सवारी साधन पार्किङले गिजाइरहेको वर्तमान अवस्थामा नगरमा करिब साढे ३० करोडको लागतमा आधुनिक प्रविधिको बहुतले पार्किङ भवन बन्ने भएको हो। ७० प्रतिशत लगानी नगर विकास कोष र बाँकी ३० प्रतिशत बुटवल उप-महानगरपालिकाको लगानी  रहने छ।

बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भइसकेको छ। पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ। पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए।

बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको भन्दै उनले पार्किङ भवन बनेपछि बुटवलमा सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्ने साथै यसले बुटवललाई अझै व्यवस्थित सहरका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।

उनले पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरूले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने बताए।

सात तले पार्किङ भवनमा एकसाथ करीब २ सय हलुका सवारी पार्किङ गर्न सकिनेछ। सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेसिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउनेछ।

त्यस्तै बसपार्कमै व्यवस्थित क्याटिनको अवधारणा पनि अघि सारिएको छ। बसपार्कमा सुपथ मूल्यमा गुणस्तरिय खाना खान पाइनुका साथै प्याकेजिङ खाना समेत व्यवस्था हुने गरी क्यान्टिनको व्यवस्थापन हुन लागेको उप-महानगरपालिकाले जनाएको छ।

रात्रीकालिन समयमा पनि सुरक्षित महसुस गराउनको लागि नाइटभिजन सिसिक्यामेरा जडान गर्ने र ५ सय मिटर दुरी सम्म उज्यालो दिने २ वटा हाईमास्ट लाइट जडान गर्ने र त्यसको निगरानी स्वरूप नगर प्रहरी परिचालन गर्ने योजना पनि बसपार्कमा अघि सारिएको छ। त्यस्तै स्वच्छ खानेपानीको व्यवस्थापन पनि बसपार्कमा छिट्टै गरिनेछ । हरियाली प्रवर्द्धनको काम पनि नियमित जसो भइरहेको छ।

के भन्छन् यातायात व्यवसायी ?
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवनकुमार बञ्जाडे बुटवलको बसपार्कमा पहिलेको तुलनामा धेरै सुधार आएको बताउँछन्।

बसपार्कलाई व्यवस्थित गर्न अहिलेको जनप्रतिनिधिहरूले बढी चासो दिएको भन्दै उनले बसपार्क केन्द्रीत गतिविधिमा आफुहरुले साथ र सहयोग गर्दै आएको बताए।

‘फोहोर व्यवस्थापनको सवालमा अलि चासो अहिलेको जनप्रतिनिधिले दिएका छन्। नयाँ पूर्वाधार थपिँदैछन्। अझ व्यवस्थित हुनेमा हामी आशावादी छौँ’, उनले भने।

उनले बुटवललाई अझ व्यवस्थित बनाउन बसपार्कभित्र पानी जम्ने समस्या समाधान गर्नुपर्ने बताए।

‘अब बर्खा लाग्दैछ। बसपार्कमा पानी जम्मा हुँदा हिलो र धुलो हुन्छ। नालीको व्यवस्थापन नगरी बसपार्कलाई राम्रो बनाउँछु भन्न सकिँदैन। त्यसैले पानी जम्ने समस्याको समधान तत्काल गरिनुपर्छ’, उनले भने।

साथै उनले अहिले चालु अवस्थामा रहेको शौचालयमा पनि सुधार गर्नुपर्ने बताए।

‘नयाँ नबनुन्जेल अहिलेको शौचालयलाई सुधार गर्नुपर्छ। निःशुल्क शौचालय प्रयोग गर्ने निर्णयपछि शौचालयमा जान नसक्ने जस्तो भएको छ। यसतर्फ पनि ध्यान दिन जरुरी छ’, उनले भने।

३ बैशाख, २०८१, ११:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।