सुदूरपश्चिम प्रदेशमा एमाले-माओवादीलाई धक्का, कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोरको मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेशमा एमाले-माओवादीलाई धक्का, कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नाउपाका लक्ष्मणकिशोरको मुख्यमन्त्रीमा दाबी

धनगढी : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्। पार्टीका संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवादमा रेशम समर्थक लक्ष्मणकिशोरले दाबी पेश गरेका हुन्।

रेशमले घनश्याम चौधरीलाई मुख्यमन्त्री बनाउने प्रयास गरेका थिए। तर रञ्जिताले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने प्रयास गरेकी थिइन्। घनश्यामलाई मुख्यमन्त्री बन्न नदिन रञ्जिताले उनलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

रञ्जिताले केन्द्रीय सत्ता गठबन्धन अनुसार एमाले र माओवादीसँग मिलेर सुदूरपश्चिम सरकारको नेतृत्व गर्ने प्रयास सुरु गरे लगत्तै आइतबार रेशम समूहले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको हो।

आइतबार सरकार गठनको दाबी पेश गर्ने अन्तिम दिन नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरेका हुन्।

प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर  ५ बजेसम्ममा दाबी पेस गर्न समय दिएका थिए।

रञ्जिताले आफ्नै पार्टीकी सांसद इन्दिरा गिरीलाई सांसद पदबाट हटाइसकेकी छन्। घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारु रेशमको पक्षमा लागेपछि रञ्जितालाई बहुमत पूर्याउन सकस परेको थियो।

सत्ता समीकरणमा कांग्रेसको १८, नागरिक उन्मुक्तिको ६ र एकीकृत समाजवादीको ४ सांसद छन्। उता एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्। सरकार गठनका लागि २७ सांसदको आवश्यक पर्नेमा कांग्रेस र एकीकृत समाजवादीसहित २८ सङ्ख्या पुगेको छ। 

२ बैशाख, २०८१, १५:३८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।