कांग्रेसले भन्यो- 'सरकार जवाफदेहीताबाट भाग्यो, मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको छ'

कांग्रेसले भन्यो- 'सरकार जवाफदेहीताबाट भाग्यो, मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको छ'

काठमाडौं : नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ। 

आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानाशाही प्रवृत्ति देखाएको बताए।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतिबाट टाढा जानेगरी मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए।

‘सरकार गैरजिम्मेवार, जवाफदेहीबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतिबाट टाढा जाने गरी मुलुकलाई तानाशाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष हाम्रो छ,’ बैठकपछि लेखकले भने, ‘सदनको चालु अधिवेशन पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असमय अधिवेशन अन्त्य गर्ने, सदनमा बहुसङ्ख्यक सांसदले उठाएका कुराप्रति सरकार गम्भीर नहुने विषयले नै सरकार कति गैरजिम्मेवार छ भन्ने देखिइसकेको छ।’

प्रमुख सचेतक लेखकले विगत एक महिनादेखि कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि बताए। 

कांग्रेस संसदीय दल बैठकले ‘जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशनको अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना र निन्दा’ गरेको छ।

शनिबार कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका थिए। उनले संसदीय छानबिन समिति मात्रै माग गरेको बताए। 

२ बैशाख, २०८१, ११:३८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।