सुदूरपश्चिममा सरकार गठनको दाबी आजसम्म, रन्जिता कठोर बन्दा नाउपामा भाँडभैलो

सुदूरपश्चिममा सरकार गठनको दाबी आजसम्म, रन्जिता कठोर बन्दा नाउपामा भाँडभैलो

धनगढी: सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको अवधि आज आइतबार सकिँदै छ। प्रदेश प्रमुख नजिर मियाँले चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई १० दिनको म्याद दिएर  ५ बजेसम्ममा दाबी पेस गर्न समय दिएका छन्।

गठबन्धन दलबिच नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय भएको थियो। मुख्यमन्त्री कसलाई बनाउने भन्ने विवादले नागरिक उन्मुक्तिले दाबी पेस गर्न सकेको छैन।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ सांसद कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने पक्षमा छिन्। श्रेष्ठले शुक्रवार संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीलाई संसदीय दलको नेताबाट हटाइन्। त्यो निर्णय कार्यान्वयन नभएपछि  पार्टी विधानको प्रावधान उल्लेख गर्दै उनलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सभामुखलाई दिइन्।

यसअघि उमले आफ्नै पार्टीकी सांसद इन्दिरा गिरीलाई सांसद पदबाट हटाइसकेकी छन् । श्रेष्ठ कडा बने पनि घनश्याम चौधरी, लक्ष्मणकिशोर चौधरी, रामेश्वर चौधरी, खुसीराम डगौरा थारु भने संरक्षक रेसम चौधरीको पक्षमा खुलेका छन्।

सत्ता समीकरणमा एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ५ (घनश्याम चौधरी निलम्बन भएपछि), एकीकृत समाजवादीका ४ सांसद छन्। सरकार गठनका लागि २७ सांसदको आवश्यक पर्छ। 

२ बैशाख, २०८१, १०:२२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।