डा. मन्दिपको उपचार अनुभव : मिलले पेलेर हात क्षतविक्षत भएकी महिलाले बच्चालाई स्तनपान गराएको त्यो कारुणिक दृष्य

डा. मन्दिपको उपचार अनुभव : मिलले पेलेर हात क्षतविक्षत भएकी महिलाले बच्चालाई स्तनपान गराएको त्यो कारुणिक दृष्य

४१ वर्षे डा. मन्दिप पाठक अर्थोपेडिक सर्जन हुन्। अछामको बयलपाटा अस्पतालमा कार्यरत उनको दैनिकी विशेषगरी दुर्घटनालगायत विभिन्न कारणले हाडजोर्नीको समस्या भएका व्यक्तिको शल्यक्रिया गरी उपचार गर्नु हो।  

अछामको बयलपाटामा जागिर सुरु गरे पछिको एउटा घटना डा. मन्दिप कहिल्यै भुल्दैनन्।

घटना करिब सात वर्षअघिको हो। जतिखेर उनले अर्थोपेडिक सर्जरी विषयको अध्ययन सकेर बयलपाटा अस्पतालमा जागिर खाएको केही महिना मात्रै भएको थियो। 

करिब २६ वर्षकी देखिने एक जना घाइते महिलालाई बयलपाटा अस्पताल पुर्याइयो। अस्पताल पुग्दा ती महिलाको एउटा हात क्षतविच्छेद अनि रक्ताम्मे थियो।

धान कुट्ने मिलमा काम गर्ने ती महिलाको हात काम गर्नेक्रममा मिलभित्र पसेछ। त्यसपछि मिलले उनको हात पेलेर क्षतविच्छेद भएछ। ती महिलाको हातका हड्डी पेलिनुका साथै हातको मासु पेलिएर छियाछिया भएको थियो। हातको मासु टुक्रा-टुक्रा भएको थियो। हातका नसा क्षतविच्छेद भएर चुँडिएका थिए। ३/४ ठाउँमा हड्डी भाँचिएर कच्याककुचुक भएको थियो।  

तर, हात छुटिएको अवस्था थिएन। ती महिलालाई अस्पताल भर्ना गरियो। महिलाको क्षतविच्छेद भएको हातको शल्यक्रिया गर्ने योजना भइरहेको बेला उनले करिब आठ महिनाको बच्चालाई काखमा राखेर स्तनपान गराइन्। एउटा हात क्षतविच्छेद भएको त्यो पीडाको अवस्थामा समेत छट्पटाउँदै ती महिलाले आफ्नो बच्चालाई अर्को हातले च्यापेर स्तनपान गराएको त्यो दृष्यले डा. मन्दिपको मन कटक्क भयो। 

उनले मनमनै सोचे, ‘ओहो! एउटी आमालाई आफ्नो बच्चाको माया कतिसम्म हुँदोरहेछ! आफ्नो  हात नै क्षतविच्छेद भएको पीडाको अवस्थामा पनि ती महिलाले आफ्नो बच्चाको पेट भरिदिइरहेकी छन्।’ 

सम्पूर्ण तयारीपछि डा. मन्दिपको टिमले ती महिलाको हात बचाउने शल्यक्रिया थाल्यो। पहिलो चरणको शल्यक्रिया सफल भयो।

ती महिलाको हातको शल्यक्रिया एक पटक गरेर मात्रै हुने अवस्था थिएन। पटक पटक शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। त्यसैले उनलाई अस्पतालमा नै भर्ना गरेर हातको ३/४ वटा शल्यक्रिया गरियो। ती महिलाको हातको मुख्य शल्यक्रियाहरू सफल भए।

डा. सन्दिपको टिम ती महिलाको क्षतविच्छेद भएको हात बचाउन सफल भयो। एक महिनाको औषधि उपचारपछि ती महिला अस्पतालबाट डिस्चार्ज भइन्।

तर, हातका नसा काटिएकाले औँला राम्रोसँग चल्न सकेका थिएनन्। त्यसैले केही महिनापछि औँला चलाउनका लागि अर्को शल्यक्रिया पनि गर्नुपर्ने थियो। 

केही महिनापछि ती महिलालाई फलोअपमा बोलाइएको थियो। तर, त्यही बेला डा. मन्दिप हड्डीको  क्यान्सरसम्बन्धी अध्ययनका लागि मलेसिया गए। त्यसपछि ती महिलालाई उनले हालसम्म देखेका छैनन्।

सम्भवतः ती महिलाले अन्यत्र गएर हात राम्रोसँग चलाउने शल्यक्रिया गराएको हुनसक्ने डा. मन्दिपको विश्वास छ। 

ती महिलाका श्रीमान भारतमा  काम गर्न जाँदा रहेछन्। सायद उनका श्रीमानले भारतमा नै लगेर उपचार गरेको हुनसक्ने डा. मन्दिपको अनुमान छ। 

भारतमा घाइते भएका ती युवालाई दुई हप्तापछि बयलपाटा ल्याइएपछि...

बयलपाटा अस्पतालमा उपचारका लागि पुग्ने अधिकांश बिरामीको मनछुने कथा व्यथा हुने गरेको डा. मन्दिपले सुनाए। सुदूरपश्चिम क्षेत्रका आर्थिक अवस्था कमजोर भएका नागरिकहरू विशेषगरी भारतमा मजदुरी गर्न जाने गरेको उनले प्रसंग सुनाए। आर्थिक अवस्था कमजोर भएका यस्ता कयौं व्यक्तिको दुःख र पिडा उनले नजिकबाट नियालेका छन्। 

डा. मन्दिपले भारतमा घाइते भएका एक जना युवा एक हप्ताअघि अस्पतालमा भर्ना भएको प्रसंग सुनाए।  

डोटीका करिब ३० वर्षका ती युवा भारतमा होटलमा काम गर्न गएका रहेछन्। तर, बसमा चढ्ने क्रममा बसले हानेर उनको दायाँ खुट्टा नै भाँचिएछ। ती पुरुषलाई कसैले अस्पताल पुर्याइदिएछन्। तर, उनी मुर्छित भएर अस्पतालमा नै बेवारिसे जस्तै भएर बसेछन्। 

कसोकसो गरेर ती पुरुषलाई भारतको दिल्लीबाट कसैले उद्धार गरेर खुट्टा भाँचिएको दुई हप्तापछि बयलपाटा अस्पताल पुर्याएछन्। अस्पतालमा ल्याइ पुर्याउँदा ती पुरुष घाइते भएको दुई हप्ता भइसकेको थियो। 

बयलपाटा अस्पतालमा पुर्याउँदा उनको खुट्टाको हड्डी नै बाहिर निस्किएको अवस्था थियो। खुट्टाको शल्यक्रिया गर्नुपर्ने थियो।

ती पुरुषको भाँचिएको खुट्टाको पहिलो चरणको शल्यक्रिया एक हप्ताअघि भइसकेको उनले सुनाए। अब दोस्रो चरणको शल्यक्रियाको तयारी भइरहेको उनले सुनाए। डा. मन्दिपले ती पुरुषको भाँचिएको खुट्टाको समस्या ठिक हुँदै गएको सुनाए।

फिलिपिन्समा एमबीबीएस अध्ययन

डा. मन्दिप काठमाडौंको बानेश्वरमा जन्मिएका हुन्। उनका बुवा शिक्षक हुन्। उनको पुर्ख्यौली थलो काभ्रेको धुलिखेल हो। उनका बुवा बसाइँसराई गरेर काठमाडौं आएका हुन्। 

मन्दिपले ललितपुरको ललितपुर माध्यमिक विद्यालयबाट एसएलसी पास गरे। उनले काठमाडौंको भीएस निकेतनबाट प्लस टु सके। 

प्लस टु पछि मन्दिपलाई डाक्टरी विषय पढ्ने रहर जाग्यो। उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सेसमा एमबीबीएस अध्ययनका लागि सन् २००४ मा भर्ना भए। सन् २००९ मा उनको एमबीबीएस अध्ययन पूरा भयो। 

एमबीबीएस अध्ययनको क्रममा नै अर्थोपेडिक सर्जरी विषयप्रति उनी बढी आकर्षित भएका थिए। एमबीबीएसपछि उनले मेडिकेयर अस्पतालमा एक वर्ष डा. चक्रराज पाण्डेसँग काम गर्ने मौका पाए। 

मेडिकेयरमा काम गर्दा नै डा. मन्दिपले फिलिपिन्समा अर्थोपेडिक सर्जरी विषय अध्ययन गर्न जाने अर्को मौका पाए। त्यसैले स्नातकोत्तर तहको अर्थोपेडिक सर्जरी विषयमा चार वर्षे एमडीएमएस अध्ययनका लागि सन् २०१० मा डा. मन्दिप फिलिपिन्स पुगे। फिलिपिन्सको दक्षिणी भागमा रहेको (साउदर्न फिलिपिन्स मेडिकल सेन्टर) मेडिकल कलेजबाट उनले सन् २०१५ सम्म चार वर्षे एमडीएमएस उत्तीर्ण गरे। 

सुगम छोडेर दुर्गममा काम

अर्थोपेडिक सर्जरी विषयको अध्ययनपछि डा. मन्दिप नेपाल फर्के। नेपाल फर्किनासाथ  उनले अछामको बयलपाटा अस्पतालमा काम काम गर्न थाले। 

डा. मन्दिपले बयलपाटा अस्पतालमा काम गरेको आठ वर्ष भयो। उनी हाल अस्पताल प्रमुखको भूमिकामा छन्। 

उनलाई काठमाडौंमा पनि काम गर्ने अवसर नभएको हैन। तर, काठमाडौंको भीडमा काम गर्नुभन्दा दुर्गममा नै गएर आफ्नो ज्ञान तथा सीपको प्रयोग गरेर बिरामीको उपचार गर्ने उनलाई इच्छा भयो। त्यसैले उनी बयलपाटा पुगे।

बयलपाटामा उनी विशेषगरी दुर्घटनामा परी घाइते भएका व्यक्तिको उपचार गर्नु त छँदै थियो। त्यसमा पनि कुनै दुर्घटनामा परी चोटपटक लागेका तथा घाइते भएका व्यक्तिको कसरी उपचार गर्ने भन्ने विषयमा समेत बयलपाटामा चिकित्सकहरूलाई ज्ञान तथा सीप समेत सिकाउने मौका पाएको उनले अनुभव सुनाए।

डा. मन्दिप त्यहाँ पुग्नुअघि डा. आरधना झाले पनि बयलपाटा अस्पतालमा केही महिना काम गरेर छोडेकी रहिछन्। 

डा. मन्दिप बयलपाटा अस्पतालमा पुगेपछि भने विशेषगरी विभिन्न दुर्घटनामा परी घाइते भएका व्यक्तिको बयलपाटामा नै शल्यक्रिया हुन्छ। त्यो क्षेत्रमा घाइते भएका व्यक्तिहरुलाई  धेरै हदसम्म अन्यत्र रिफर गर्नुपर्ने  अवस्था नरहेको उनले सुनाए।

डा. मन्दिपले मलेसियामा पुगेर हड्डीमा हुने क्यान्सर सम्बन्धी सर्जरी (अर्थोपेडिक अंकोलोजी) विषयमा एक वर्ष पनि ज्ञान तथा सीप समेत सिकेका छन्। त्यसैले पनि हाल बयलपाटा अस्पतालमा उनले हड्डीमा हुने क्यान्सरका बिरामीलाई पनि उपचार गरिरहेका छन्। 

बयलपाटामा एक्लो सर्जन

सुरुमा डा. मन्दिप बयलपाटा अस्पताल पुग्दा त्यहाँ कुनै दुर्घटनामा परी घाइते भएका तथा हाडजोर्नीको समस्या भएका जस्ता अथोपेडिक सर्जरी सम्बन्धी उपचार आवश्यक हुने बिरामीलाई रेफर गर्नुपर्ने अवस्था थिए। तर, आफू त्यहाँ गएपछि धेरै हदसम्म त्यो समस्या कम भएको उनले सुनाए। 

गत वर्ष मात्रै बयलपाटामा डा. मन्दिपको टिमले करिब आठ सय जना बिरामीको जटिल शल्यक्रिया (मेजर सर्जरी) गरेको रहेछ। जसमध्ये अधिकांश अर्थोपेडिकसँग सम्बन्धित शल्यक्रिया भएको उनले सुनाए। त्यसैगरी करिब एक सय २५ जना भन्दा धेरै बच्चा जन्माउन नसकेका गर्भवती महिलाको शल्यक्रिया (सिजरियन सेक्शन) गरी प्रसूति गराइएको उनले सुनाए।

हाल डा. मन्दिप बयलपाटा अस्पतालमा एक्लो (अर्थोपेडिक) सर्जन रहेछन्।

बयलपाटा अस्पतालमा उनी अर्थोपेडिकसँग सम्बन्धित अधिकांश शल्यक्रिया गरी उपचार गर्छन्। हिप प्रत्यारोपण, जोर्नी प्रत्यारोपण, भाँचिएको तथा खुस्किएको भागमा रड हाल्ने, पाता हाल्ने जस्ता विशेषगरी हाडजोर्नीसँग सम्बन्धित समस्याको शल्यक्रिया गरी उपचार गर्नु उनको दैनिकी हो। 

सामुदायिक अस्पतालका रुपमा चिनिएको बयलपाटा (सामुदायिक, निजी र सरकारी)मिश्रित ढाँचाको अस्पताल हो। यो अस्पताल न्याय हेल्थ नेपालको मुख्य व्यवस्थापकीय सहयोगमा चलेको रहेछ। सुदूरपश्चिमको पहाडी जिल्ला अछामको बयलपाटा अस्पतालले अछाम, बाजुरा, डोटी र कालिकोटलगायतका क्षेत्रका बिरामीलाई उपचार सेवा दिइरहेको छ।

हाल प्रदेश अन्तर्गत रहेको यो अस्पतालले सबै निःशुल्क उपचार सेवा दिइरहेको डा. मन्दिपले सुनाए। विभिन्न दाताहरुको सहयोगमा नै बयलपाटा अस्पतालले निःशुल्क उपचार दिएर आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि राहत मिलिरहेको उनले सुनाए।

डा. मन्दिपकी श्रीमती पनि डेन्टल सर्जन रहिछन्। उनीहरुको दश महिनाकी छोरी छन्। अहिले उनीहरूसँगै छन्। 

बयलपाटा अस्पतालमा स्वास्थ्य सेवाको विस्तार गरी त्यस भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु उनको उद्देश्य हो। त्यसैले सो अस्पतालमा कसरी हुन्छ अधिकतम स्वास्थ्य सेवाको विस्तारका लागि आफू सक्रिय रहेको उनले अनुभव सुनाए।

सुदूरपश्चिम क्षेत्रका कयौं व्यक्ति आर्थिक अभावको कारण बिरामी हुँदा अन्यत्र रेफर भएर जान समेत नसक्ने अवस्थामा रहेको उनले अनुभव सुनाए। त्यसैले यो क्षेत्रमा स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ। 

१ बैशाख, २०८१, २०:२४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।