गृहमन्त्रीको दाबी : रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन्

गृहमन्त्रीको दाबी : रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा कोही असुरक्षित हुँदैनन्

काठमाडौं : उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियासील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन शनिबारदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पारेका छन्।

नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गरेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गरे।

शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौंको थापाथलीमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घण्टासम्म विभिन्न व्यक्तिहरूलाई शुभकामना र हौसला प्रदान गरेका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताएका हुन्।

लामिछानेले भने, ‘यो शहर जिउँदो जाग्दो र क्रियाशील शहर हो भन्ने कुरा हमीले जनतालाई महसुस गराउनुपर्ने हुन्छ। त्यसको यो सुरुवात मात्र हो।’

उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे।

‘नियम र कानूनहरू कडाइ साथ पालना हुन्छन्। नागरिकको सुरक्षामा कुनै पनि कम्प्रमाइज हुँदैन। यही उद्देश्य लिएर हामी अगाडि बढेका छौँ। आगामी दिनमा अरू थुप्रै त्यस्ता कार्यक्रमहरू हामी लिएर आउँछौं’, लामिछानेले थपे।

थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाइ दिएर शुभकामना दिएका गहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरूवात गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको धारणा राखेका छन्।

१ बैशाख, २०८१, ११:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।