राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

राजनीतिक स्थिरता सुदृढ बनाउनु यो वर्षको मूल जिम्मेवारी : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष ०८१ को मूल जिम्मेवारी भएको बताएका छन्।

विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतीको लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु मूल जिम्मेवारी भएको बताएका हुन्।

‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन्’, दाहालले भनेका छन्।

उक्त प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विस्वास दाहालको छ। नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ-आफ्नो कर्मक्षेत्रमा जुट्ने विश्वास पनि दाहालको छ।

दाहालले विगत वर्षका अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ-आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैमा आह्वान पनि गरेका छन्।

सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याहरूको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक क्षेत्रमा प्राप्त सफलता विसं २०८० का हाम्रा आशालाग्दा राष्ट्रिय उपलब्धी भएको दाबी दाहालको छ।

१ बैशाख, २०८१, ०८:३८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।