गृहमन्त्री लामिछानेलाई चोख्याउन मरिमेटेर लागिपरेका ओली-प्रचण्ड

गृहमन्त्री लामिछानेलाई चोख्याउन मरिमेटेर लागिपरेका ओली-प्रचण्ड

काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन वैशाख २ गतेबाट अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २ गते राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको हो।

यसअघि नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका बारेमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आएको थियो। यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूलाई राखेर संसद खुलाउन पटकपटक छलफल गरेको भएपनि त्यसले सार्थकता पाउन सकेन। 

त्यसपछि पनि प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस आफ्नो मागबाट पछि नहटेपछि सत्तारुढ दल एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डको भेटघाटपछि मन्त्रिपरिषद्ले संसद अन्त्यको सिफारिस गरेको हो। 

मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच छलफल भएको थियो। छलफलमा सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री र अन्य विविध विषयमा छलफल भएको थियो। 

गृहमन्त्री एवं रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएपछि कांग्रेसले रविको राजीनामा मागिरहेका बेला संसद अधिवेशन गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गृहमन्त्रीलाई राजीनामा गराउँदा त्यसको असर सबैभन्दा बढी एमालेलाई पर्ने देखिएपछि संसद नै अन्त्य गर्ने निर्णयमा पुगेको अनुमान गरिएको छ। 

यसअघि प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेको बचाउ गर्दै संसदमा जवाफ दिसकेका छन्। यता, अध्यक्ष्य ओलीले पनि गृहमन्त्री लामिछाने निर्दोष रहेको रहेको आशयको अभिव्यक्ति दिँदै आएका छन्।  

३० चैत, २०८०, १८:४२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।