रेशम पक्षीय घनश्यामलाई हटाएर आफू निकट कैलाशलाई मुख्यमन्त्री बनाउन रञ्जिताको लबिङ

रेशम पक्षीय घनश्यामलाई हटाएर आफू निकट कैलाशलाई मुख्यमन्त्री बनाउन रञ्जिताको लबिङ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन लबिङ सुरू गरेकी छिन। उनले पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेर यसको थालनी गरेकी हुन्।  

सांसद कैलाशलाई मुख्यमन्त्री बनाउन नाउपा केन्द्रीय समितिले घनश्यामलाई निलम्बन गरेको हो। जबकि संसदीय दलको नेतालाई संसदीय दलकै बहुमत वा सर्वसम्मतीले मात्र हटाउने अभ्यास छ। 

तर, नाउपाले भने केन्द्रीय समितिको बैठकबाट निर्णय गरी प्रदेशसभामा पत्र पठाएर निलम्बनको सूचना दिएको छ। 

'हामीले निर्णय गरेर प्रदेशसभामा पत्र पठाइसकेका छौँ,' नाउपाकी अध्यक्ष रञ्जिताले भनिन्, 'उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको हो।'

निलम्बनको औपचारिक कारण भने खुलाइएको छैन। तर, नाउपाभित्र पछिल्लो समयमा रन्जिता पति एव पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिताबीचमा मतभेद छ। त्यसैको कोपभाजनमा परी रञ्जिताले कैलाशलाई मुख्यमन्त्रीमा अघि सारेकी छिन। 

पार्टीभित्र कैलाश रन्जिता पक्षका मानिन्छन् भने निलम्बन गरिएका घनश्याम रेशम पक्षका हुन्। 

यसअघि गत सोमबार रञ्जिताले 'चैत २५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार दलको नेताबाट घनश्यामलाई हटाएर प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेताको हैसियतमा कार्य गर्न निर्णय भएको' पत्र प्रदेश सभामुखलाई पठाएकी थिइन्।

तर, सभामुख भीम भण्डारीले नेता परिवर्तन भएको दलको सर्वसम्मत वा बहुमत निर्णयसहितको पत्र नआएकाले नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरी नै रहेको जवाफ दिएका थिए।

३० चैत, २०८०, १५:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।