'म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्ने चाहन्छु'

'म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्ने चाहन्छु'

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता साझेदारीलाई गठबन्धन नभई समीकरणका रूपमा मात्र बुझ्न आग्रह गरेका छन्।

बिहीबार मदन भण्डारी स्मृति प्रतिष्ठान तथा एमाले ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको र विकास, समृद्धि र सुशासनमा समस्या देखा पर्न थालेको बताए। यस्ता समस्या धेरै दिन कायम रहन हुन्न भन्ने मनसायले नै गठबन्धन भत्काएर आफूहरूले नयाँ समीकरण बनाएको उनको भनाइ छ। 

उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै राष्ट्रिय गौरव बढाउन एमाले बाहेक अर्को शक्तिबाट सम्भव नभएकोले ‘मिसन २०८४’ ल्याइएको बताए।

उनले कांग्रेसलाई पात झरेर थोत्रो भइसकेको रुखको संज्ञा दिए।

‘म कांग्रेसको पात नझरोस् र झरेको पातमा नयाँ मुना पलाओस् भन्छु, कांग्रेस मति बिगारिरहन्छ,’ उनले भने। 

उनले आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रूपमा अघि बढ्न समेत कार्यकर्तालाई सुझाव दिएका थिए। 

ओलीले ताप्लेजुबाटै इलाम–२ र बझाङ उपनिर्वाचनका निर्वाचनमा होमिएका एमाले उम्मेदवारको मत मागेका छन्। 

२९ चैत, २०८०, २०:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।