खगराज अधिकारी : पहिला गण्डकीमा १२ बाट ७ मन्त्रालयमा झारे, अहिले भागबन्डा मिलाउन फेरि बढाए

खगराज अधिकारी : पहिला गण्डकीमा १२ बाट ७ मन्त्रालयमा झारे, अहिले भागबन्डा मिलाउन फेरि बढाए

काठमाडौं : गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर ९ वटा पुर्याएको छ। गण्डकी सरकारको मंगलबार बसेको बैठकले मन्त्रालय संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो।

बुधबार मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न  सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो। यद्यपि गण्डकी सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय भने मंगलबार नै हो। 

सर्वोच्चको आदेश आउनुअघि नै मन्त्री परिषद् बैठकले हाल ७ मन्त्रालयलाई फुटाएर ९ पुर्याउने निर्णय भएको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

उनका अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषद् मातहतबाट आन्तरिक मन्त्रालय फुटाएर छुट्टै बनाउने र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट फुटाएर स्वास्थ्य मन्त्रालय छुट्टै बनाउने निर्णय भएको छ।

यसअघि १२ मन्त्रालय रहेको गण्डकीमा ५ मन्त्रालय कटौती गरेर ७ वटा मात्रै मन्त्रालय बनाउने निर्णय खगराज अधिकारीकै पालामा भएको थियो।

तत्कालीन अवस्थामा मन्त्रालय संख्या धेरै हुँदा संघीयता कमजोर बनेको भन्दै उनले मन्त्रालय संख्या ७ मा झारेका थिए। तर अहिले उनकै दोस्रो कार्यकालमा भने भागबन्डा पुर्याउन मन्त्रालय संख्या थपिएको हो। 

२९ चैत, २०८०, १५:१०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।