फिल्मकर्मी ओमप्रतिकको हिजोको कुरा : ड्रामा गर्छु भन्दा अछुतको व्यवहार गर्ने घरबेटीले लुकी-लुकी नेपाली फिल्ममा हिन्दी साउण्ड हाल्थे

फिल्मकर्मी ओमप्रतिकको हिजोको कुरा : ड्रामा गर्छु भन्दा अछुतको व्यवहार गर्ने घरबेटीले लुकी-लुकी नेपाली फिल्ममा हिन्दी साउण्ड हाल्थे

२०२६ सालमा रोल्पाको खुग्रीमा जन्मिएका कलाकार तथा निर्देशक हुन् ओमप्रतिक गुरुङ। उनलाई अधिकांशले ओम प्रतिकका नामले चिन्ने गरेका छन्। फिल्म ‘चेली’, ‘ढुकढुकी’, ‘बावुसाहेब’, ‘अर्जुन’, ‘दोबाटो’, ‘अंगरक्षक’, ‘मेरो माया ९९ सय तिम्रो माया सय’ लगायत थुप्रै फिल्म लेखेका छन्।

लेखन, अभिनय र निर्देशन तिनै विद्यामा उनले आफूलाई अब्बल बनाएका ओम प्रतिकले रोल्पामा आफूले देखेको भोगेको र अनुभव गरेका थुप्रै कुराहरू रहेका छन्। उनको परिवार गुरुङ भएता पनि हजुरबुवा, बुवा र आफैँले पनि अन्तरजातीय विवाद गरेका छन्। तीन जनाले क्षेत्री परिवारसँग साइनो गाँसेका छन्।

पञ्यायतकालको त्यस्तो कठोर मानिएको बेला समेत अन्तरजातीय विवाह गरेर चुनौती दिए। बुवा रोजगारीको सिलसिलामा भारतमा भएकाले उनले नेपालमा ४-५ कक्षासम्मको अध्ययनपछि ब्याचलरसम्म भारतको मुम्बईमा अध्ययन गरे। नेपाल आउजाउ भने उनको परिवारको चलिरहन्थ्यो।

आधा भारतमा त आधा जसो नेपालमा उनको बसोबास हुन्थ्यो उनको। उनी पञ्चायतकालका थुप्रै कुराहरूको अनुभव बटुलेका रहेछन्। नाटक खेल्छु भन्दा काठमाडौंका घरबेटीले अछुतको व्यवहार गरेको, धमाधम नेपाली भिडियो फिल्ममा हिन्दी फिल्मका साउण्ड हालेको समेत उनले देखेका थिए। उनले आफूले थाहा पाउँदाको समयमा देखेका र अनुभव गरेको कुरालाई हिजोको कोलममा यसरी सुनाएका छन्।

०००

म जन्मिएको रोल्पाको खुग्री गाउँ विकास समिति वडा नम्बर २ थियो। अहिले त्यो सुनिलस्मृति गाउँपालिका भएको छ। मैले थाहा पाउँदा हाम्रो गाउँलाई पञ्चायत भन्ने गरिन्थ्यो। किनभने १७ सालपछि नेपालमा पञ्चायत व्यवस्था लागू भइसकेको थियो।

मेरो जन्म २६ सालमा भएको हुनाले पञ्चायत व्यवस्थाकै बेला भएको हो। मेरो बुवा भारतमा रोजगारीको सिलासिलामा हुनुहुन्थ्यो। म यता जन्मिए पनि अधिकांश समय भारतमै बित्यो। केही कक्षा रोल्पाकै त्रिपुरेश्परी निम्न माध्यमिक विद्यालयमा पढेपछि ब्याचलरसम्मको अध्ययन भारतको मुम्बईमा गरेँ। तर, नेपाल आउने-जाने क्रम जारी नै रह्यो।

‘कलाकार बन्न बुवासँग विद्रोह गरेँ’
भारतमा हुँदा बुवाले हामीलाई फिल्म हेर्न लैजानुहुन्थ्यो। मैले अलि–अलि थाहा पाउँदाको समय थियो। त्यसबेला बुवाले फिल्म ‘सन्तोषी माँ’ हेराउन हलमा लैजाउनुभएको थियो। भारतका मानिसहरूमा फिल्म हेर्ने चलन बढिरहेको थियो। उनीहरूसँग बसेपछि हामीमा पनि फिल्म हेर्ने चलन बढ्न थाल्यो।

बुवाले लामो समयपछि फिल्म ‘गान्धी’ हेराउन लैजानु भएको थियो। यो फिल्म हेर्दा म, बुवा र आमा गएका थियौँ। यो फिल्मका दृश्यहरू निकै मलाई थाहा छ। त्यतिबेलाको समयमा फिल्म हेर्न पाउनु निकै ठूलो थियो। त्यसबेला टिकटको कति रुपैयाँ पथ्र्यो मलाई याद भएन। किनभने सुरुवातको समयमा बुवाले हेराउनु भयो। बुवाले फिल्म हेराउन थालेपछि बानी लाग्यो अनि निरन्तर फिल्म हेर्न जान थालेँ।

स्कुलमा पढ्दै जाँदा मेरो मन मस्तिस्कमा कलाकार बन्ने भुत चढ्न थाल्यो। त्यसैको कारणले होला साथीहरूसँग मिलेर शु ओम आर्ट भन्ने संस्था खोलेर नाटक गर्न थाल्यौँ। त्यहाँका पार्टीका कार्यक्रमहरूमा नाटक मञ्चन गर्न थाले। म नाटकमा भुल्न थालेपछि बुवाले त्यो छुटाउनका लागि रोल्पा नै लिएर आउनुभयो। तर, मेरो कलाकार बन्ने भुत उत्रिने कुरै भएन।

मेरो बुवालाई म कलाकार बनेको मन परेकै थिएन। दुई जना छोरामा म जेठो हो। यतिको पढेको छोराले कुनै सरकारी जागिर खाओस् भन्ने चाहाना थियो। शिक्षण पेशामा भए पनि हुन्थ्यो भन्ने उहाँको चाहाना थियो। तर, मलाई जागिर खान मनै थिएन। त्यो समय नै, त्यस्तै थियो।

जागिर खाएपछि घर परिवार समाल्ने भन्ने कुरा थियो। मलाई फेरि कलाकार बन्ने भुत चढिसकेको थियो। भारतमा पनि अभिनय गरेर विभिन्न अवार्ड हात पारिसकेको मान्छे नेपालमा आएर के-को जागिर खाएर हल्लिन्छु भन्ने भयो। बुवाको चाहाना विपरीत म भने घरमा विद्रोह तरिकाले नेपालमा पञ्चायत व्यवस्था ढलेपछि अर्थात २०४८ सालतिर काठमाडौं हिडेँ।

भारतमा रहँदै गर्दा शु-ओम आर्ट समूह खोलेर नाटक गर्न थालेको थिए।

हामीले यो ग्रुपबाट कलेज पढ्ने समयमा ३/४ वटा जति नाटक मञ्चन गरेका थियौँ। सन् १९८९ सालतिर भारतको देहराधुनमा अलइण्डिया नाटक प्रतियोगिता भइरहेको थियो। त्यसमा पनि हामीले सहभागीता जनाएका थियौँ। त्यो समयमा हामीले विभिन्न विधामा ६ वटा अवार्ड हात पारेका थियौँ।

भारतको त्यो ठाउँमा देशभरीका कलाकारहरूबीचको प्रतिष्पर्धामा ६ वटा अवार्ड हात पार्नु चानचुने कुरा थिएन। त्यो बधाई र सम्मानले मलाई झन् हौसला मिल्यो। त्यस्तो सम्मान त अब खै पाइन्छ कि पाइँदैन। त्यस्तो काम गर्न सकिएला कि नसकिएला। तर, भारतमा त्यति ठूलो अवार्ड प्राप्त गर्दा संसारै जितेको अनुभुति भएको थियो।

म भारतमा रहँदा त्यहाँको माहोलमा हुर्किएको हुनाले नेपालमा पनि केही गर्छु भन्ने मनमा थियो। भारतमा त त्यत्रो सम्मान पाए नेपाल त आफ्नै देश हो किन पाउँदिन भन्ने लागेको थियो। तर, नेपालमा त्यस्तो थिएन।

‘नाटक गर्छु भन्दा कोठा भाडामा पाउनै मुस्किल थ्यो’
थिएटरमा नाटक गर्छु भन्दा काठमाडौंका घरबेटीले कोठा भाडा नै दिँदैनथे। नाटक गर्नेले कहाँको पैसा ल्याएर भाडा तिर्छ भनेर काठमाडौंमा डेरा पाउन मुस्किल थियो। भाडामा बस्दा साथीहरूसँग बस्थेँ सुरूमा। अनि थिएटरमा काम गर्छु भन्दा तलदेखि माथिसम्म हेथ्र्यो मलाई।

म जीवन भन्ने साथीसँग बसिरहेको थिएँ अनि सोधेँ जीवनलाई किन यसले यसरी हेरेको भनेर सोधेँ। ‘ह्या ओम दादा, नाटक गर्ने भनेपछि यहाँका मान्छेले मान्दैनन् क्या’ भन्यो।

एक दिन रूममा नै बसिरहेको थिएँ। म बसेको रुममाथि ड्याङ् ड्याङ डुङ्डुङ आवाज आयो। अनि ‘के रैछ त!’ भनेर यसो हेरेको, नेपाली फिल्म इडिटिङ गरेर हिन्दी फिल्मको साउण्डको हालिरा रैछ, त्यो घरबेटीले। उसले चाहिँ लुकी-लुकी काम गर्दो रैछ। अचम्म लाग्यो मलाई।

पञ्चायतमा छुवाछुत 
म घरमा रहँदा नेपालमा पञ्चायत व्यवस्था नै थियो। त्यस समयका प्रधानपञ्चहरूदेखि सिडियो लगायतहरू हाम्रोमा भेला हुन्थेँ। देशको विकास कसरी गर्न सकिन्छ भन्ने खाल्का कुराहरू एक अर्कासँग राख्थेँ। छलफलपछि उनीहरू उठेर जान्थेँ।

मेरै बुवाको मामाको छोरालाई प्रधानपञ्चमा चुनाव उठेका थिए। उनले दुई पटक प्रधानपञ्चको अनुभव बटुलेका छन्। उनलाई जिताउनका लागि म भारतबाट रोल्पा आउनुपथ्र्यो। जुन वर्ष पञ्चायत गयो, त्यहि वर्ष पनि मेरो बुवालाई भेट्न इण्डिया आउनुभएको थियो उहाँ।

बुवाले म सक्दिनँ ‘तँ जे गरेर चुनाव जित्छस् जित्’ भन्नुभएको थियो। जुन मैले सुनेको छु। किनभने मेरो बुवाको गाउँमा राम्रो पकड थियो। त्यसकारण चुनावमा भोट माग्नका लागि पञ्चायत जानुभन्दा एक वर्ष अघि मुम्बईमा रहेको हाम्रो डेरामा आउनुभएको थियो उहाँ।

मामाको छोराले चुनाव जिते पनि मामाले जोगाएको सम्पत्ति बेचेर विकासमा खर्चिएका थिए। उनले देश र जनताको काम गर्छु भन्दै खेतबारी बेचे। मेरो बुवाले नै पनि केहि रोपनी जग्गा किन्दिनु भएको थियो।

त्यसबेला बुवाले ‘गाउँको प्रधानपञ्च भएर तैले के चाहिँ गरिस्?’ भनेर भाइलाई प्रश्न गर्नुभएको थियो। बुवाले त्यसो भनेपछि उहाँ रोल्पा फर्किनुभयो र चुनाव लड्नुभयो तर जित्नु भएन। त्यसको एक वर्षपछि त पञ्चायत ढलिहाल्यो।

मैले थाहा पाउँदा पञ्चायतमा खासै छुवाछुत भएको पाइनँ। कहिलेकाहिँ पञ्चहरूले यसो गरेका थिए रे भन्ने सुन्छु। तर, हाम्रो गाउँमा त्यस्तो नराम्रो कुराहरू भएको र जातीय छुवाछुत भएको खासै थिएन पनि। किनभने मेरो हजुरबुवाले नै क्षेत्री केटी विवाह गर्नुभएको थियो, त्यो समयमा।

बाहिर हल्ला गरेको जस्तो जातीयताका कुरा कमै उठेका थिए त्यतिबेला। अहिले पो राजनीतिक दलका मान्छेले जातीय कुरा उठाएर झगडा लगाएर रमाएका छन्। मैले थाहा पाउँदा र मेरो गाउँमा अलिअलि थियो तर यति साह्रो चाहिँ थिएन।

छोराछोरी भनेर भेदभाव भएको पाइनँ
स्कुल पढ्नका लागि केटा र केटी भनेर छुट्याउने गरिएन। हाम्रो गाउँमा मसँगै पढ्ने एकजना सहपाठी साथी थिइन्। उनी सर्ट पेन्ट लगाएर स्कुल आउथिँन्।

त्यो समयमा छोरी मान्छेले पेन्ट सर्ट लगाउनु हुँदैन भन्ने कुरा थिएन। किन उनले सर्ट पेन्ट लगाइन त भन्दा  उनका हजुरबुबा मलाय लाहुरे थिए रे। उनले आफू लाहुर जाँदा त्यहाँको चिज किनेर ल्याइदिन्थेँ। उनले त्यो लुगा लगाएर स्कुल आउँदा हामीले गिज्याउथ्यौँ।

त्यस समयमा केटी मान्छेले पेन्ट लगाउनु हुँदैन भन्ने चलन थियो। तर, लाउनेले लाउथेँ। त्यतिबेला त त्यस्तो थियो अहिले त के कुरा भयो र?

मसँगै पढेकाहरू अहिले को सिडियो कोही के-के पदमा काम गरिरहेका छन्। कोही सरकारी जागिरेबाट अवकाश प्राप्त भइसकेका छन्। त्यो समयमा पढ्न लागि कुनै छेकबार थिएन। छोरी मान्छेले पढ्नु हुँदैन भन्ने कुरा मैले देखिनँ। किनभने स्कुल भरि केटाकेटी सराबरी हुन्थेँ।

परिवारमा अन्तरजातीय विवाह 
मेरो हजुरबुवा गुरुङ। उहाँ बागलुङबाट झर्नुभएको रहेछ, त्यो जमनामा। त्यतिबेला हजुरबुवा बसोबास गरेको ठाउँमा उहाँको क्षेत्रीको छोरीसँग लभ परेछ र विवाह गर्नुभएछ। मैले सुनेको हो। किनभने मेरो बुवा सानै हुँदा हजुरबुवा बित्नुभएको रहेछ। मेरो बुवाले हजुरबुवालाई त्यति राम्रो देख्न पाउनुभएन भने मैले त झन् देख्ने कुरै भएन।

झाडापखलाको महामारीको बेलामा बित्नुभएको रे हजुरबुवा, मलाई हजुरआमाले भन्नुभएको। मेरो बुवा चाहिँ मामाघरमा नै बसेर हुर्किनुभएको रैछ। पछि बुवाले पनि क्षेत्री नै विवाह गर्नुभएछ। मेरी आमा खस क्षेत्री। अनि मेरो पनि क्षेत्रीसँग नै विवाह भयो, लभ म्यारिज। मेरो हजुरबुवादेखि नै हाम्रोमा अन्तरजातीय विवाह भएको हो। त्यसबेला त कसैले केहि गरेन भने अहिले त झन् गर्ने कुरै भएन।

अन्तरजातीय रूपमा विवाह गरे पनि ससुराली जाँदा होस् या कतै कहिलै समस्या भएन। हिजो मेरो हजुरबुवाको पालामा नभएको कुरा अहिलेको समयमा हुने कुरै भएन। गुरुङले छोएको क्षेत्रीले नखाने, क्षेत्रीले छोएको बाहुनले नखाने अनेक थियो नि त्यो बेला। तर, पनि बिहेबारी चल्थ्यो।

खाली यति थियो कि पानी नचल्ने समुदायसँग जाँदा कारबाही गर्ने, यो गर्ने त्यो गर्ने भन्ने थियो। जात निकाला गर्ने भन्ने कुराहरू सुनिन्थ्यो। एक–दुई जनाको मैले देखेको पनि हुम्ला।

मगरले परियारसँग विवाह गरेपछि...
रोल्पामा नै एक जना मगर थरका थिए। उनी लामो समयदेखि भारतमा बसोबास गर्दै आएका र एक्लो छोरो थिए। परियार थरकी युवतीसँग माया बसेछ अनि विवाह गरे।

हाम्रो गाउँघरमा के हुन्छ भने, गुरुङ, मगर, बाहुन, क्षेत्री, परियार या जे सुकै थरको होस्, सबैलाई कुनै न कुनै साइनो लगाएर बोलाउने चलन छ। कोही न कोही कुनै न कुनै रूपमा साइनोमा पर्छ नै। कसैलाई मामा भनिन्छ, कसैलाई काका, ठूलोबुवा, सानोबुवा, यस्तै नातागोताले बोलाइन्छ।

तँ फलाना होस् म ठूलो जातको मान्छे हो भन्ने मैले कहिलै देखिनँ पनि। अनि ती मगरलाई मैले साइनोमा सानो बुवा भन्नुहुन्थ्यो। उनले परियार थरकीलाई विवाह गरेपछि गाउँकाले बिटालु बिटालु भन्थेँ। तर, आउजाउ यता उति केहि पनि रोकिएन। म त कान्छी आमा भनेर ढोगिदिन्थेँ। ह्याँ नढोगन भन्नुहुन्थ्यो, म पनि खै छोड्नु भनेर ढोगिदिन्थेँ।

​​​​​​​उहाँले छोएको पानी खाने, खाना खाने सबै गरिन्थ्यो। कहिलेकाँही आमाले चाहिँ त्यसो नगर भन्नुहुन्थ्यो। त्यति हो। नत्र कहिल्यै पनि जातियताको कुरा आउँदैनथ्यो। मेरो हजुरबुवाले त छुवाछुत मान्नुभएन भने म के मान्थेँ र? मैले कहिल्यै मानिनँ।

चैत २९, २०८० बिहीबार १३:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।