'प्रदेश सभाले पार्टीलाई चिन्छ, रन्जिता श्रेष्ठलाई चिन्दैन'

'प्रदेश सभाले पार्टीलाई चिन्छ, रन्जिता श्रेष्ठलाई चिन्दैन'

काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले नागरिक उन्मुक्ति पार्टीको हालसम्म घनश्याम चौधरी नै संसदीय दलको नेता रहेको बताएका छन्।

विगत एक महिनादेखि संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठको विवादबाट गुज्रिरहेको नाउपाकी अध्यक्ष रञ्जिताले पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट घनश्यामलाई हटाएर आफू पक्षीय प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेता तोकेकी थिइन्।

उनले 'चैत २५ गतेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार दलको नेताबाट घनश्यामलाई हटाएर प्रदेश सभा सदस्य कैलाश चौधरीलाई दलको नेताको हैसियतमा कार्य गर्न निर्णय भएको' पत्र प्रदेश सभामुखलाई सोमबार पठाएकी थिइन्।

तर, सभामुख भण्डारीले दलको नेता परिवर्तन भएको पत्र प्राप्त भए पनि हालसम्म नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता घनश्याम चौधरी नै रहेको बताए।

उनले भने, 'प्रदेश सभाले संसदीय दललाई चिन्ने हो, नागरिक उन्मुक्ति संसदीय दलबाट नेता परिवर्तन गरेको कुनै पत्र आएको छैन।'

उनले दलको नेता परिवर्तन भएको भए दलको सर्वसम्मत वा बहुमत निर्णयसहितको पत्र आउनु पर्ने तर त्यस्तो पत्र अहिलेसम्म नआएको बताए।

उनले भने, 'पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पत्र पठाउनु भएको छ। यो उहाँको पार्टीको आन्तरिक विषय होला तर यो विषयमा प्रदेश सभाले रञ्जिता श्रेष्ठलाई चिन्दैन, दलको निर्णयलाई चिन्छ। त्यसैले यो पत्रको कुनै अर्थ छैन।'

संसदीय दलको नेताबाट हटाइएका घनश्याम प्रदेशका आर्थिक मामिला मन्त्री हुन्। उनी रेशम पक्षका नेता भएकाले रञ्जिताले उनलाई हटाएर आफ्नो पक्षकालाई राख्दा केन्द्रीय सत्ता गठबन्धनलाई सहज हुने देखिन्छ। 

७ जना प्रदेशसभा सदस्य रहेको नाउपामा सोमबार राज्यमन्त्रीसमेत रहेकी इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ६ जना बाँकी छन्। ६ जनामध्ये अध्यक्ष रञ्जिताको पक्षमा २ जना मात्रै छन्।

२७ चैत, २०८०, २१:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।