सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसद्वारा प्रतिनिधि सभाको बैठक अवरुद्ध

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ।

सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबनाएसम्म संसदका कुनै कार्यसूची अगाडि नबढाउने चेतावनी दिँदै संसद अवरुद्ध गरेको हो।

प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सचेतक सुशीला थिङले आफूहरूले पूर्व सूचना दिँदादिँदै पनि सरकारले कांग्रेसलाई गलाउने रणनीति गरेको बताइन्।

उनले भनिन्- ‘सहकारी पीडितहरू लाखौँ छन्। अर्बौँ रकम अपचलन भएको कुरा आएको छ। त्यसमा सूर्य दर्शन सहकारीसहित ६ वटाबाट एक अर्ब गोरखा मिडिया कम्पनीमा लगाइएको छ। यो एक अर्ब कम्पनीले लान पाउँछ कि पाउँदैन? यो गैरकानूनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन?’

रवि लामिछाने भएपछि अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो भन्दै उनले प्रश्न गरेकी छन्।

उनले थपिन्, ‘रवि लामिछानेको ठाउँमा अरू जोकोही भएको भए कारबाही हुन्थ्यो होला। कानून लाग्थ्यो होला। रवि लामिछाने भएपछि त अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो ? सरकार जबाफदेही हुनुपर्छ कि पर्दैन?’

थिङले आफ्नो कुरा राखेपछि सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झालाई बोल्न समय उपलब्ध गराएका थिए। त्यसलगत्तै कांग्रेसले उनलाई बोल्न अवरोध गरेको हो।

झालाई बोल्नै नदिएर हो-हल्ला गरेपछि सभामुखले बस्न र बोल्न दिन आग्रह गरेका थिए। त्यति हुँदा पनि कांग्रेसले नटेरेर होहल्ला गरिराखेपछि सभामुख घिमिरेले बैठक आजै १५ मिनेटका लागि स्थगित गरेका छन्।

२७ चैत, २०८०, १३:१९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।