भारतको नैनितालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु, दुई नेपाली घाइते

भारतको नैनितालमा सवारी दुर्घटना हुँदा सात नेपालीको मृत्यु, दुई नेपाली घाइते

एजेन्सी : भारतको उत्तराखण्डको नैनिताल जिल्लामा सवारी दुर्घटना हुँदा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ।

नैनितालको बेतालघाट नजिक सोमबार राति करिब १०ः३० बजे चालकले नियन्त्रण गुमाउँदा गाडी सडकबाट १५० फिट गहिरो खोँचमा खसेको थियो।

दुर्घटनामा थप दुई नेपाली घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै स्टेट डिजास्टर रेस्पोन्स टीम (एसडीआरएफ)को टोली घटनास्थलमा पुगेको थियो।

एसडीआरएफको टोली, स्थानीयवासी र प्रहरीले घटनास्थलबाट आठ शव निकालेका थिए। घाइतेहरूलाई थप उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

गाडीमा नौ नेपाली सवार थिए, ती सबै महेन्द्रनगरका हुन्। 

दुर्घटना भएको स्थान नैनिताल जिल्ला सदरमुकामबाट करिब ६० किलोमिटर टाढा थियो। मृतक सातै नेपाली बेतालघाटको उन्चाकोट गाउँमा जलजीवन मिशन आयोजनामा ​​काम गर्थे।

काम सकिएपछि सोमबार साँझ नौ नेपाली कामदार रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा फर्कनका लागि गाडी बुकिङ गरेका थिए।

मृत्यु हुनेमा चालक राजेन्द्र कुमार बेतालघाट निवासी रहेको प्रहरीले जनाएको छ।

२७ चैत, २०८०, १३:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।