'तल्लो जात' भन्दै श्रीमतीको हत्या गरेर भारत भागे, १७ वर्षपछि गाउँ फर्केर अर्को विवाह गरी बसेको बेला पक्राउ

'तल्लो जात' भन्दै श्रीमतीको हत्या गरेर भारत भागे, १७ वर्षपछि गाउँ फर्केर अर्को विवाह गरी बसेको बेला पक्राउ

सुर्खेत : १७ वर्षअघि वीरेन्द्रनगर नगरपालिका–१० लाटिकोइलीकी २४ वर्षीय श्रीमती गौरी विक रावतलाई हत्या गरेर फरार रहेका रामबहादुर रावत पक्राउ परेका छन्। 

साविक लाटिकोइली गाविस वडा नम्बर ५ मा उनले श्रीमती गौरीलाई विवाह गरेको एक महिनामा नै लौरोले कुटपिटपछि हत्या गरेका थिए। रामबहादुरले २०६३ असार ९ मा हत्या गौरीको गरी गाई गोठमा लास फालेर फरार भएका थिए।

उनै रामबहादुलाई यही चैत २१ गते जाजरकोटको जुनिचाँदे गाउँपालिका – १ काप्राबाट प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको हत्या गरेर १० वर्षसम्म भारतमा लुकेर बसेका रामबहादुर २०७३ वैशाखमा आफ्नो पुर्ख्यौली ठाउँ जाजरकोटको जुनिचाँदेमा फर्केर अर्को विवाह गरी बसेका थिए।  

गौरीको हत्या गर्ने समयमा उनको उमेर ५६ वर्षको थियो। उनी भारतबाट फर्केर ६६ वर्षको उमेरमा २८ वर्षीय महिलालाई विवाह गरेर पुर्ख्यौली गाउँमा बसेका थिए। 

उनले श्रीमतीको हत्या गर्नुको मुख्य कारण अन्तरजातीय विवाह देखिएको प्रहरी अनुसन्धानले देखाएको छ। उनले गौरीभन्दा पहिले नै दुई विवाह गरिसकेको खुलेको छ। 

पहिलेकी जेठी श्रीमतीबाट एउटा छोरा समेत रहेका छन्। दोस्रो र गौरीबाट उनको बच्चा थिएन। त्यस्तै, अहिलेकी कान्छी श्रीमतीबाट ८ वर्षीय छोरा छन्। 

गौरीको हत्या भएपछि उनकी ठुलीआमा पर्ने पार्वती नेपालीले ०६३ असार ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा रामबहादुर विरुद्ध जाहेरी दिएकी थिइन्।

शवको पोस्टमार्टम ०६३ असार ११ गते नै तत्कालीन क्षेत्रीय अस्पताल (हाल प्रदेश अस्पताल)मा गरिएको थियो। उक्त रिपोर्टले समेत हत्या गरेको खुलेको थियो।

आमाबुबा गुमाएकी गौरीको माइती घर बर्दिया भएको बुझिएको छ। हाल जाहेरी दिने पार्वतीको समेत मृत्यु भइसकेको छ। 

त्यस्तै, मृतकका आफन्त समेत प्रहरीको सम्पर्कमा छैनन्।  २०७६ जेठ ०६ गते जिल्ला अदालत सुर्खेतबाट रामबहादुर विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। 

प्रहरीले सूक्ष्म अनुसन्धान गर्दा आरोपित अर्को विवाह गरेर बसेको सूचनाका आधारमा १७ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए।

‘हत्या भएको १७ वर्षपछि उनलाई सूक्ष्म अनुसन्धानबाट पक्राउ गर्न सफल भएका छौं,’ उनले भने, ‘उनी (रामबहादुर) हत्या गरेपछि लामो समयसम्म भारत बसेको र त्यसपछि पुर्ख्यौली गाउँ आई विवाह गरेर बसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अहिले उक्त घटना अदालतबाट म्याद थप गरेर अनुसन्धानको क्रममा छ।’ 

उनका अनुसार जेष्ठ नागरिक भएका कारण उनको तस्बिर सार्वजनिक गरिएको छैन।

प्रहरी अनुसन्धान स्रोतका अनुसार रामबहादुरले त्यसअघि पनि केही अपराध गरेको हुनसक्ने भन्दै त्यसतर्फ समेत अनुसन्धान थालिएको छ। 

स्रोतका अनुसार उनले तल्लो जातको महिला भएकै कारण हत्या गरेको खुलेको छ। 

आफूले हत्या गरेको उनले प्रहरी समक्ष स्वीकारेका छन्।

उनले प्रहरीसँगको बयानमा भनेका छन– ‘श्रीमतीले मदिरा सेवन गर्ने, आफ्नो पाकेटको रकम लिने गरेका कारण आवेगमा आएर हत्या गरेको हुँ।’

२६ चैत, २०८०, १९:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।