गण्डकी : सरकार बनाउन सभामुख समेत जोडेर दाबी पेस गरेका खगराज दोस्रोपटक मुख्यमन्त्री नियुक्त

गण्डकी : सरकार बनाउन सभामुख समेत जोडेर दाबी पेस गरेका खगराज दोस्रोपटक मुख्यमन्त्री नियुक्त

पोखरा : गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्। 

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै उनी गण्डकी प्रदेशको दोस्रोपटक मुख्यमन्त्री बनेका छन्।

यसअघि आजै नेता अधिकारीले  सरकार बनाउन सभामुख समेत जोडेर  एमालेका २२, माओवादी केन्द्रका आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। कुल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ।

सपथ ग्रहण आजै साढे तीन बजे राखिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए। 

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ। राजीनामा नदिईकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

२५ चैत, २०८०, १४:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।