कांग्रेसले टुंग्यायो इलाम-२ र बझाङ प्रदेश सभा (१)को उम्मेदवार

कांग्रेसले टुंग्यायो इलाम-२ र बझाङ प्रदेश सभा (१)को उम्मेदवार

काठमाडौं : वैशाख १५ गते हुने उप-निर्वाचनमा नेपाली कांग्रेसले इलाम-२ र बझाङ प्रदेश सभा (१)को उम्मेदवार टुंग्याएको छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले दुवै स्थानको उम्मेदवार टुंगो लगाएको हो।

बैठकले कांग्रेसले इलाम-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१)मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

उम्मेदवार चयनकै विषयमा बोर्ड बैठकमा जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिएको थियो।

खड्का ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। संसदीय बोर्डको निर्णयलाई बिहीबार नै बस्ने कार्यसम्पादन समितिले अनुमोदन गर्नेछ।

यसअघि बुधबार बसेको बैठकमा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच सहमति हुन सकेको थिएन।

सभापति देउवाले इलाम-२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका थिए भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गर्दा कोइराला समूहले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको थियो।

२२ चैत, २०८०, १३:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।