लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

बुटवल : लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक आज बस्दैछ।

अपरान्ह ४ बजे दाङ देउखुरीस्थित प्रदेश सभामा बस्ने बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने तयारीमा छन्।

नयाँ सत्तागठबन्धन बनेपछि लुम्बिनीमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेका चौधरीले आज विश्वासको मत लिन लागेका हुन्।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्रगरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त भएका थिए। तर, राजनीतिमा आएको फेरबदलका कारण उनले फेरि विश्वासको मत लिने स्थिति बनेको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ। यस्तो अवस्थामा उनले विश्वासको मत पाउन मुस्किल छ।

बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। अहिले चौधरीको पक्षमा कांग्रेस २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा ३, लोसपा ३, जनमत ३, जनमोर्चा का १ जना गरी ४१ मत मात्र छ।

नयाँ गठबन्धनका लागि पनि संसदीय अंकगणित प्रतिकूल नै छ। प्रदेश सभाको अंकगणित अनुसार एमालेको २९, माओवादीको १०, जसपा ३ र एकीकृत समाजवादी १ सहित जम्मा ४३ सिट मात्र पुग्छ। नागरिक उन्मुक्ति पार्टीको ४ सिट थपिएको अवस्थामा ४७ सिट सहित बहुमत पुग्छ।

नागरिक उन्मुक्ति पार्टीभित्र भने विवाद छ। उसले समर्थन नगरेको अवस्थामा नयाँ गठबन्धनलाई बहुमतका लागि १ सांसद चाहिन्छ। नयाँ गठबन्धनले एक स्वतन्त्र सांसदलाई ल्याएर सरकार बनाउने तयारी गरेको छ।

नयाँ समीकरणमा रहेका पाँच दलले लुम्बिनीमा माओवादीका जोख बहादुर महराको नेतृत्वको नयाँ सरकार बन्नेछ।

२२ चैत, २०८०, ०८:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।