बालेनले एक अर्ब खाएको भन्दै फेसबुकमा लेख्ने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर

बालेनले एक अर्ब खाएको भन्दै फेसबुकमा लेख्ने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ। महानगरकै स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेलविरुद्ध मुद्दा दायर भएको हो।

मेयर शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका कर्मचारी पौडेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) अपराधमा मुद्दा चलाइएको हो।

ताप्लेजुङको मौवाखोला गाउँपालिका-१ घर भएका पौडेल विगत २१ वर्षदेखि महानगरपालिकाको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा मेयर शाहले सयौं कर्मचारी करारमा नियुक्त गरेको र एक अर्ब रुपैयाँ खाएको भन्दै लेखेका थिए।

‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ पौडेलले सामाजिक सञ्जालमा लेखेका थिए।

मेयर शाहविरुद्ध लेखेपछि पौडेल गत पुस १६ गते निलम्बनमा परेका थिए। निलम्बनपछि उनी उच्च अदालत पाटन पुगेका थिए।

मेयर शाहमाथि झुटा आरोप लगाएर अपमान गरेको भन्दै बालेनको तर्फबाट सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

पौडेल फरार रहेकाले नभेटिएको भन्दै उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर  गरिएको हो। 

२१ चैत, २०८०, २१:३६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।