राप्रपाको निर्णयले गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो, एमालेलाई धक्का

राप्रपाको निर्णयले गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो, एमालेलाई धक्का

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सत्ता गठबन्धनलाई विश्वासको मत नदिने निर्णय गरेको छ। बुधवार बसेको पार्टीको पदाधिकारी बैठकले गठबन्धन बाहिर रहेका दलबाट सरकारमा दाबी गरेमा विश्वासको मत दिने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।

गण्डकीमा नयाँ सरकारको दाबी गर्न सात दिने म्याद जारी भएको, लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीहरूले विश्वासको मत लिने तयारी गरिरहेको बेलामा राप्रपाले सत्ता गठबन्धनलाई धक्का दिने निर्णय गरेको हो।

श्रेष्ठले यसअघिको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो।

बुधवारको बैठकले आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई मत नदिने निर्णय गरेको उनले जानकारी दिए। बैठकले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकताअनुसार सहयोग गर्ने-नगर्नेबारे निर्णय लिने अधिकार पार्टी अध्यक्षलाई तोकेको छ।

सत्ता गठबन्धनमा गण्डकी एमालेको भागमा परेको छ। राप्रपाका गण्डकीमा निर्णायक रहेकाले कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने देखिन्छ। बुधवारै मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिइसकेका छन्।

सोमबार बाग्मती प्रदेशमा राप्रपा तटस्थ बसेको थियो। सुदूरपश्चिम र लुम्बिनीमा कांग्रेस नेतृत्वको मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णालीका मुख्यमन्त्रीले बुधवार विश्वासको मत लिने कार्यतालिका बदलेर राजीनामा दिएका थिए।

२१ चैत, २०८०, १७:५६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।