कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले दिए राजीनामा, एमालेका यामलाललाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले दिए राजीनामा, एमालेका यामलाललाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेशसभाको तेस्रो अधिवेशनको छैठौं बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्।

उनले राजनीतिक परिवेश बदलिएको भन्दै राजीनामा दिएको बताए।

मुख्यमन्त्री शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा पत्र दर्ता गराएका थिए। एकाएक सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई सरकारको नेतृत्व दिने निर्णय गरेपछि माओवादी र एमालेमा सत्ता नेतृत्वको विवाद देखिएको थियो।

शर्माले प्रचण्डको निर्देशन विरुद्ध विश्वासको मत लिने भन्दै मंगलबारको बैठक समेत स्थगित गरेका थिए। उक्त विवाद मिलाउनका लागि प्रचण्डले केन्द्रीय सदस्य एवं कालिकोटबाट प्रतिनिधिसभा सदस्य पुर्व मुख्यमन्त्री महेन्द्र शाहीलाई सुर्खेत पठाएका थिए।

त्यो सँगै एमालेलाई सघाउन पार्टीका कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ललाई निर्देशन दिए। सोमबारदेखि सत्तारुढ दलमा सत्ता नेतृत्वको विषयमा किचलो बढेको थियो।

मंगलबार र बुधबार सत्तारुढ दलका नेताहरुबीच पटक–पटक भएको छलफलमा समेत सहमति हुन सकेको थिएन।

अब एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्ने भएका छन्। उनको नेतृत्वमा माओवादीले समेत सरकारमा मन्त्रीहरू पठाउने छ।

२१ चैत, २०८०, १६:५७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।