बिहीबार विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री चौधरी, यस्तो छ संसदको अंकगणित

बिहीबार विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री चौधरी, यस्तो छ संसदको अंकगणित

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले विश्वासको मत लिन प्रदेश अधिवेशन आव्हान गरेका छन्। बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने छन्।

केन्द्रमा सत्ता समीकरण फेरबदल भए सँगै मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरेका थिए।

त्यसपछि माओवादीले फागुन २३ गते चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्ता लिएको ३० दिनभित्र (चैत २२ गतेभित्र) विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

लुम्बिनी सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री चैत २२ गते दिउँसो ४ बजे विश्वासको मत लिने बताए।

अल्पमतमा परेका मुख्यमन्त्री चौधरीले प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिनसम्म सञ्चालन गरेर अन्त्य गरेका थिए।

विश्वासको मत लिने भएपनि चौधरीलाई विश्वासको मत पाउन मुस्किल छ। संसदमा विश्वासको मत प्राप्त गर्न नसकेमा चैत २३ गते नयाँ सरकार बन्ने बाटो खुल्नेछ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले पद गुमाइसकेको हुँदा अब भने ८६ सदस्य मात्रै छन्।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४/४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ सांसद छन्।

मुख्यमन्त्री माओवादीको भागमा

नयाँ सत्ता गठबन्धनको भागबन्डा अनुसार लुम्बिनी प्रदेश माओवादीको भागमा परेको छ। माओवादीबाट जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन्।

रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद महराले अहिले सरकार गठनको आन्तरिक तयारीमा लागेका छन्।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, एमाले, जसपा, नागरिक उन्मुक्ति, माओवादी निकट स्वतन्त्र सांसद र एकीकृत समाजवादी पार्टीको समर्थनमा सरकार बन्नेछ।

२० चैत, २०८०, १६:२३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।