सहकारी मन्त्री भन्छन्- 'सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन्'

सहकारी मन्त्री भन्छन्- 'सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन्'

काठमाडौं : बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गरेका मन्त्री बज्राचार्यले हाल थोरै संख्याका सहकारी सञ्चालकको स्वार्थका कारण समस्यामा परेको र बदनाम बनिरहेको सहकारी क्षेत्रमा ९९ प्रतिशत राम्रा सञ्चालक रहेको जिकिर गरे।

मन्त्री बज्राचार्यले वर्तमान परिस्थितिमा सहकारीहरू आफैं पनि एकजुट हुन जरुरी रहेको धारणा राखे।

सहकारी क्षेत्रकै कारण देशको अर्थतन्त्र बलियो भएको र सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्नेमा मन्त्री बज्राचार्यले जोड दिए।

कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी क्षेत्रमा बागमती प्रदेशमा मात्र ५१ अर्ब रुपैयाँ शेयर पुँजी रहेको जानकारी गराए। उनले यस क्षेत्रका सहकारीमा धेरैजसो महिलाहरू आबद्ध रहेको बताए।

उनले देशभरका ३० हजार सहकारी संस्थाहरूलाई एकीकरण गरेर १० हजार सहकारी बनाउन आफूहरू लागिरहेको बताए।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको औपचारिक सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो। सहकारीको क्षेत्रमा झण्डै ६० लाख सदस्य छन्। 

२० चैत, २०८०, १४:२७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।