सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको भन्दै ॠणीहरूद्वारा रूपन्देहीमा धर्ना

सबैभन्दा ठूलो मिटरब्याजी बैंक भएको भन्दै ॠणीहरूद्वारा रूपन्देहीमा धर्ना

बुटवल : बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै ऋणीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा धर्ना दिएका छन्।

आर्थिक मन्दीको अवस्थामा समेत बैंक तथा वित्तीय संस्थाहरूले ऋण र ब्याजका लागि ताकेता गरेको भन्दै उनीहरूले प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्।

बैंक तथा वित्तीय संस्थाहरूबाट पीडित भएको भन्दै उनीहरूले बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति मार्फत धर्ना दिएका हुन्।

समितिका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले पीडितको आवाज सुनुवाइ कहीँ नभएपछि दवावस्वरूप प्रशासन कार्यालयमा धर्ना दिएको बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेपनि नियमन निकायले वास्ता नगरेको आरोप लगाए।

एक अंक ब्याजदर हुँदा ॠण लिएका ऋणीहरू अहिले दुई अंकको ब्याज भए सँगै ब्याज र सावा तिर्न नसक्ने अवस्थामा रहेको भन्दै उनले ॠण उठाउने नाममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले धम्की समेत दिने गरेको सुनाए।

उनले जनताको घाँटी निमोठ्न र घरबारबिहीन बनाउन नपाइने भन्दै जनताको तागतलाई कसैले रोक्न नसक्ने बताए।

उनले बैंकहरुले राम्रो सम्पत्ति भएका जग्गा वा घरलाई कम मूल्यांकन गरी धितो लिलामी गर्ने गरेको भन्दै यस्ता बैंक र वित्तीय संस्थाहरूबाट पीडित भएकाहरूको माग सरकारले सुन्नुपर्ने बताए।

उनले भने, ‘बैंकले २० करोडको सम्पत्ति १० करोड मूल्यांकन गरेर धितो लिलामी गरेका छन्। बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजीबाट जनता पीडित छन्।’

त्यस्तै, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकले ब्याजको स्याज पनि असुली गरेको बताए। उनले अहिले सबैभन्दा ठूलो मिटरब्याजी बैंक नै भएको आरोप लगाए।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ की वडा सदस्य निलु श्रीसले नागरिकलाई समस्या पर्दा पनि आफ्नै देशका नागरिकको समस्या बैंकले बुझ्न नसकेको बताइन्।

बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति, रुपन्देहीका सचिव विशाल पौडेल, सिद्धार्थनगर नगरपालिका–५ की वडा सदस्य सरस्वती श्रेष्ठ लगायतले बोल्दै बैंकले ज्यादती र अत्याचार गरेको आरोप लगाए।

१९ चैत, २०८०, १६:५०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।