गठबन्धनले माधवको तीन सर्त नमाने पनि एकीकृत समाजवादीले बागमतीमा विश्वासको मत दिने

गठबन्धनले माधवको तीन सर्त नमाने पनि एकीकृत समाजवादीले बागमतीमा विश्वासको मत दिने

मकवानपुर : बागमतीमा मुख्यमन्त्री सालिकराम जम्मकट्टेलाई विश्वासको मत दिने सर्तमा मुख्यमन्त्रीमा आलोपालोसहितका सर्त राखेर किचकिच गरेको एकीकृत समाजवादीले विनासर्त विश्वासको मत दिने भएको छ।

आइतबार पार्टीले यथास्थितिमा विश्वासको मत दिन नसक्ने भन्दै सातमध्ये एक प्रदेशको नेतृत्व, बागमतीमा आलोपालो नेतृत्व राजनीतिक नियुक्तिमा भाग र एक मन्त्री थप्नुपर्ने सर्त अगाडि सारेको थियो।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको सर्तका कारण माओवादी केन्द्र र एमालेका शिर्षतहमा आइतबार बसेको बैठक निष्कर्षमा पुग्न सकेको थिएन। तर सोमबार पार्टीले जम्मकट्टेललाई विश्वासको मत दिने निर्णय गर्यो।

एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले केन्द्रको निर्देशन अनुसार अहिलेलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए। एकीकृत समाजवादीको मतले मात्र जम्मकट्टेलले बहुमत पाउन सक्दैनन्। हाम्रो नेपाली पार्टीको मत समेत आवश्यक पर्छ। हाम्रो नेपाली पार्टीले पक्ष वा विपक्ष कता मत दिने निर्णय सार्वजनिक गरिसकेको छैन।

नेपाली काँग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेले आज विश्वासको मत लिँदैछन्। विश्वासको मत पाउन उनले एमाले र हाम्रो नेपाली पार्टीबाट मन्त्री बनाइसकेका छन्।

माओवादी नेतृत्वको सरकार जोगिन ५६ मत चाहिन्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१ सांसद छ। बहुमतका लागि एकीकृत समाजवादीको ७ मतसँगै हाम्रो नेपाली पार्टीको २ मत समेत चाहिन्छ।

प्रतिपक्षमा रहेको कांग्रेससँग ३७ मत छ। उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। १३ सांसद रहेको राप्रपा पनि प्रतिपक्षमा उभिएको छ। नेपाल मजदुर किसान पार्टीका ३ सांसद छन्। नेमकिपा पक्ष वा विपक्षमा खुलेको छैन।

दुई सिट रहेको हाम्रो नेपाली पार्टीबाट सरकारमा सहभागी भए पनि पार्टीभित्र विवाद छ। पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै पार्टी नेतृत्वले सरकारमा सहभागी भएका सांसदलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेको छ। 

१९ चैत, २०८०, १३:३५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।