बागमतीमा माधवको बार्गेनिङ, भागबन्डा नटुंगिए सालिकरामलाई विश्वासको मत नदिने, कर्णालीमा एमाले निर्णयहिन

बागमतीमा माधवको बार्गेनिङ, भागबन्डा नटुंगिए सालिकरामलाई विश्वासको मत नदिने, कर्णालीमा एमाले निर्णयहिन

काठमाडौँ : सत्ता घटक दलहरुबीच सात प्रदेशको सरकारमध्ये कुन प्रदेशमा कसले नेतृत्व गर्ने टुंगो नलागेको भन्दै बागमती प्रदेशमा मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

केन्द्रमा बदलिएको सत्ता गठबन्धनसँगै अल्पमतमा परेका जम्मकट्टेलले सोमबार विश्वासको मत लिँदैछन्। आइतबार एकीकृत समाजवादीले ‘यथास्थितिमा विश्वासको मत नदिने’ निर्णय गरेको हो।

मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ। माओवादी नेतृत्वको सरकार जोगिन ५६ मत चाहिन्छ। प्रदेशसभामा एमालेको २७, माओवादी केन्द्र २१ सांसद छ। बहुमतका लागि एकीकृत समाजवादीको ७ मतसँगै हाम्रो नेपाली पार्टीको २ मत समेत चाहिन्छ।

प्रतिपक्षमा रहेको कांग्रेससँग ३७ मत छ। उसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। १३ सांसद रहेको राप्रपा पनि प्रतिपक्षमा उभिएको छ। नेपाल मजदुर किसान पार्टीका ३ सांसद छन्। नेमकिपा पक्ष वा विपक्षमा खुलेको छैन।

दुई सिट रहेको हाम्रो नेपाली पार्टीबाट सरकारमा सहभागी भए पनि पार्टीभित्र विवाद छ। पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै पार्टी नेतृत्वले सरकारमा सहभागी भएका सांसदलाई सरकारबाट फिर्ता हुन निर्देशन दिइसकेको छ। एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत नदिए जम्मकट्टेल नेतृत्वको सरकार ढल्नेछ।

कर्णालीमा एमाले अन्योलमा

सत्ता साझेदार दलहरुबीच जारी संवादमा कर्णाली प्रदेशको नेतृत्व एमालेले दाबी गरिरहेको छ। माओवादी केन्द्रभित्र कर्णालीको नेतृत्व नछाड्न नेतृत्वमा दबाब बढिरहेकै बेलामा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले  चैत २० गते विश्वासको मत लिनेबारे प्रदेशसभालाई जानकारी गराइसकेका छन्। विश्वासको मतका लागि चैत २० गते दिउस ३ बजे प्रदेश सभाको बैठक समेत बोलाइसकिएको छ।

तर सत्ताको मुख्य सहयोगी दल एमालेले अहिलेसम्म विश्वासको मतको पक्षमा मतदान गर्ने वा विपक्षमा निर्णय गरिसकेको छैन।

कर्णाली प्रदेश सभा ४० सदस्यको हो। बहुमतका लागि शर्मालाई २१ सांसदको मत चाहिन्छ।  प्रदेशमा माओवादीबाट १३, एमालेका १० / एकीकृत समाजवादीको १ सांसदसहित २४ छन्। प्रतिपक्षमा रहेको कांग्रेसका १५ र राप्रपाको एक सांसद छन्। प्रदेश सभाको समीकरण अनुसार एमालेले विश्वासको मत नदिई शर्मा नेतृत्वको सरकार टिक्दैन।

उता गठबन्धन बदलिएसँगै कोशी, मधेस, गण्डकी, लुम्बिनी अनि सुदूरपश्चिमको सरकारबारे समेत नयाँ गठबन्धन दलबीच सहमति हुन सकेको छैन। वर्तमान मुख्यमन्त्रीहरू आफ्नो सरकार जोगाउन मन्त्रीपरिषद् विस्तार गरिरहेका छन्। सत्ताधारी दलबीच भागबन्डा मिल्न सकेको छैन।

१८ चैत, २०८०, १८:४५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।