खरिद विवादको मेसिन भएको बाँकेको क्यान्सर अस्पताल भवनमा आगो लाग्यो

खरिद विवादको मेसिन भएको बाँकेको क्यान्सर अस्पताल भवनमा आगो लाग्यो

काठमाडौँ : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी सम्बन्धी उपकरण भएको भवनमा आगो लागेको छ। सिटी स्क्यान, लिन्याक, एक्स–रे, युएसजी लगायत रेडियोलोजी सम्बन्धी मेसिन, औजार तथा उपकरण भएको भवनमा आगो लागेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले उकेरालाई जानकारी दिए।

डा. साहका अनुसार सो भवनमा धुवाँको मुस्लो आइरहेको र दमकलले आगो निभाइरहेको छ। आगो नदेखिए पनि धुवाँको मुस्लो भने देखिरहेको उनले सुनाए।

उकेरासँग कुराकानीका क्रममा उनले आइतबार बेलुका आगो लागेको र नियन्त्रणमा आए पनि धुवाँको मुस्लो भने बाँकी रहेको बताए।

‘भित्र सबै कोठामा धुवाँ नै धुवाँ छ,’उनले उकेरासँग भने,‘आगो बलिरहेको देखिँदैन, धुवाँ मात्रै छ। एसी सर्ट भएर सिटीको ब्याट्री पड्के जस्तो छ। आगो नियन्त्रण भयो। तर, धुवाँ निस्कन २-३ घण्टा टाइम लाग्न सक्छ।’

सिटी र निन्याक जस्ता ठुला मेसिनबाहेकका युएसजीलगायत साना मेसिन र फर्निचरका धेरै सामग्री भने बाहिर निकालिएको उनले सुनाए। सो भवनमा रहेको लिन्याक मेसिनको कन्ट्री अफ ओरिजिन लगायतका विवादले भुक्तानी रोकिएको थियो।

१८ चैत, २०८०, १८:१५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।