उपनिर्वाचनको अन्तिम समयमा माओवादीले एमालेलाई सहयोग गर्ने विश्वासमा छन् ओली

उपनिर्वाचनको अन्तिम समयमा माओवादीले एमालेलाई सहयोग गर्ने विश्वासमा छन् ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले पनि अन्तिम समयमा आएर आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेसलाई जिताउन नमिल्ने भन्दै उनले एमाले सत्ता साझेदार रहेकोले माओवादीले पनि इलाम-२ को उपनिर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई समर्थन गर्ने उनको भनाइ छ।

शनिबार एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयोजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उनले इलाम २ र बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित रहेको बताएका छन्।

पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ।

उनले भने, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र एमाले एकातिर, त्यस्तो अवस्थाको सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो। तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं। यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन। गत वर्षको निर्वाचनमा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए।’

 प्रतिस्पर्धा गर्न सक्ने अन्य दल नभएकाले पनि एमालेले जित्ने ओलीको जिकिर थियो।

‘इलाम क्षेत्र नम्बर २ मा हिजो सबै मिल्दा पनि हामीले जितेका हौं। त्यतिबेला कांग्रेसका उम्मेदवार हामीसँग झण्डैझण्डै सिंगौरी खेल्न पुगेको थियो। माओवादीको घाँस, अर्काको घाँस, अर्काको कुँडो सबै खाएर निकै तागतिलो देखिएको थियो कांग्रेस। त्यतिबेला हामीले हराइदिएका थियौं। अहिले त्यस्तो घाँस, कुँडो कतै हुनेवाला छैन। त्यसकारण यसपल्ट इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन। हामी जित्छौं,’ उनले भने।

अध्यक्ष ओलीले बझाङ प्रदेश १ मा पनि आफ्नो पार्टीले १६ हजार बढी मत ल्याएर जित्ने दाबी गरे। 

१७ चैत, २०८०, २१:२०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।