एक वर्षपछि मुख्यमन्त्री पाउने आशमा बागमती सरकारमा सहभागी भयो एमाले, थपलियाले लिए मन्त्रीको सपथ

एक वर्षपछि मुख्यमन्त्री पाउने आशमा बागमती सरकारमा सहभागी भयो एमाले, थपलियाले लिए मन्त्रीको सपथ

काठमाडौं : बागमती प्रदेशको सत्ता गठबन्धनमा एक वर्षपछि मुख्यमन्त्री पाउने गरी एमाले माओवादी नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

आलोपालो नेतृत्वको सहमतिपछि एमालेको तर्फबाट संसदीय दलका नेता जगन्नाथ थपलियाले आज आर्थिक मामिला तथा विकास मन्त्रीको सपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले थपलियालाई सपथ ग्रहण गराएका हुन्।

उनी दोस्रोपटक प्रदेश सरकारमा सहभागी भएका हुन्।

पहिलोपटक २०७९ पुस २६ गते गठन भएको माओवादी नेतृत्वको बागमती प्रदेश सरकारमा सहभागी भएका उनी ४ महिनापछि गठबन्धनको समीकरण परिवर्तन भएसँगै सरकारबाट अलग भएका थिए।

बागमतीमा रिक्त ६ वटा मन्त्रालयमध्ये चैत १५ गते हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ लिएका थिए।

योसँगै १२ सदस्यीय मन्त्रिपरिषद्को बागमती सरकारमा माओवादी केन्द्रको भागमा मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय परेको छ। एकीकृत समाजवादीले श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालिरहेको छ।

१७ चैत, २०८०, २०:०६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।