ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, एक जना बेपत्ता

ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, एक जना बेपत्ता

काठमाडौ : काठमाडौंबाट गाेरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ।

शनिबार बिहान सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशुली नदीमा खसेको थियो।

मृत्यु हुनेमा ट्याक्सी चालक गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनमाया रोका, २८ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन नगरकोटी रहेका छन्।

दुर्घटनामा गोरखाकै गोरखा नगरपालिका-७ फिनामका १७ वर्षीय विवश रोका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले जानकारी दिए।

दुर्घटनामा मृत्यु र बेपत्ता हुने सबै एकै परिवारका रहेका छन्। काठमाडौंमा पारिवारिक कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा सवारी ट्याक्सी त्रिशुलीमा खसेको हो। उनीहरूसँगै अर्को दुईवटा गाडी पनि गोरखा गइरहेको थियो।

अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि ट्याक्सी त्रिशुलीमा खसेको थियो।

१७ चैत, २०८०, ११:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।