‘गृह प्रशासनमा करुणा जाग्दा’ दुई दिनमै हिरासतमुक्त भइन् रक्षा बम

‘गृह प्रशासनमा करुणा जाग्दा’ दुई दिनमै हिरासतमुक्त भइन् रक्षा बम

काठमाडौँ : ‘गृह प्रशासनमा करुणा जाग्दा’ एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम दुई दिनमै हिरासतमुक्त भएकी छिन्। एक युवतीको मोबाइलबाट गोप्य तस्बिर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोपमा पक्राउ परेकी उनी शुक्रवार प्रहरीको हिरासतबाट मुक्त भएकी हुन्।

पक्राउ पर्दा स्वस्थ रहेकी उनको स्वास्थ्य अवस्था र हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने तर्क गर्दै सरकारी वकिलको कार्यालयसँगको परामर्शमा प्रहरी वृत्त महाराजगन्जले उनलाई हिरासतमुक्त गरेको हो।

महाराजगन्जमा आपराधिक लाभको कसुरमा जाहेरी परेपछि प्रहरीले उनलाई बुधवार पक्राउ गरेको थियो।  उनी त्यही साँझ स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना भएकी थिइन्।

यस अगाडि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा उपचारकोक्रममा अस्पतालमै रहेको बेलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई हाजिर जमानीमा मुक्त गरेको थियो। सो निर्णय विवादित भएपछि गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको कार्यक्रममा राज्यको पनि करुणा हुने भन्दै बिरामी भएकाले महरालाई हाजिर जमानीमा छाडेको तर्क गरेका थिए।

 

 

१६ चैत, २०८०, १६:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।