एनआइसी एसियाको प्रतिशेयर आम्दानी ११ प्रतिशत बढ्यो, निक्षेप ३ खर्ब ८१ अर्ब नाघ्यो

एनआइसी एसियाको प्रतिशेयर आम्दानी ११ प्रतिशत बढ्यो, निक्षेप ३ खर्ब ८१ अर्ब नाघ्यो

काठमाडौँ : बैंकिङ क्षेत्रको प्रतिशेयर आम्दानी र प्रति शेयर नेटवर्थमा नकारात्मक वृद्धि भइरहँदा एनआईसी एसिया बैकको प्रतिशेयर आम्दानी २३.०६ रुपैयाँबाट ११ प्रतिशत बढेर २५.५९ रुपैयाँ पुगेको छ। प्रति शेयर नेटवर्थ पनि १ सय ५१ रुपैयाँबाट ३६ प्रतिशत (५४.१०) रुपैयाँले बढेर २०५.१० रुपैयाँ पुगेको छ। समग्र बैकिङ्ग क्षेत्रको शेयर नेटवर्थ १ प्रतिशतले मात्र बढ्दा एनआइसी एसियाको भने ३६ प्रतिशत बढेको हो।

स्वःपूँजीमा प्रतिफल समग्र बैकिङ्ग क्षेत्र ५० प्रतिशतले घट्दा एनआईसीको १६.८४ बाट १२.७३ प्रतिशतमा राख्न सफल भएको देखिन्छ।

बैंकको निष्क्रिय कर्जा अनुपात निकै कम छ। समग्र बैकिङ्गक्षेत्रको निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत रहँदा एनआईसीको निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत रहेको देखिन्छ।

आर्थिक वर्ष २०७३-७४ देखि आर्थिक वर्ष २०८०-०८१ को पुस मसान्तसम्म कुल कर्जा प्रवाहमा एनआइसी बैंक समग्र बैकिङ्ग क्षेत्रभन्दा निकै अगाडि देखिन्छ। यस अवधिमा बैंकको कुल कर्जा प्रवाह ७२ अर्ब ५६ करोड २० लाख रुपैयाँबाट ३ सय १७  प्रतिशतले बढेर चालु आव २०८०-०८१ को पुस मसान्तसम्म आइपुग्दा ३ खर्ब २ अर्ब ६५ करोड ६० लाख पुगेको छ।

निक्षेप सङ्कलनमा समग्र बैकिङ्ग क्षेत्र १ सय ५९ प्रतिशतले वृद्धि हुँदा एनआइसी एसिया बैंकको ८६ अर्ब ६९ करोडबाट ३ सय ४० प्रतिशतले वृद्धि भएर ३ खर्ब ८१ अर्ब ३९ करोड बढी भइसकेको छ।

वासलातको आकारमा बैङ्कले ९९ अर्ब २७ करोड ४० लाखबाट ३ सय ३७ प्रतिशतले वृद्धि भएर ४ खर्ब ३३ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरै पुगेको बैंकको दाबी छ। यस अवधिमा समग्र बैकिङ्ग क्षेत्र १ सय ५७ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ।

कुल बचत तथा चल्ती निक्षेपतर्फ बैङ्कले २८ अर्ब ६५ करोड ६० लाखबाट ३ सय ६३ प्रतिशतले वृद्धि गरेर १ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ बढी पुर्याएको छ। यस शीर्षकमा समग्र बैकिङ्ग क्षेत्र १ सय ७ प्रतिशतले मात्र वृद्धि भएको देखिन्छ। 

स्वःपूँजीमा प्रतिफल समग्र बैकिङ्ग क्षेत्र ५० प्रतिशतले घट्दा एनआईसी एसिया बैंक भने १६.८४ बाट १२.७३ प्रतिशतमा राख्न सफल भएको देखिन्छ। समग्र बैकिङ्ग क्षेत्रको निष्क्रिय कर्जा अनुपात औसतमा ३.६३ प्रतिशत रहँदा एनआईसी एसिया बैङ्कका निष्क्रिय कर्जा अनुपात १.१९ प्रतिशत मात्र रहेको छ।

बैंकको ग्राहक सङ्ख्या ५ लाख ५४ हजारबाट वृद्धि भएर ४१ लाख ७ हजारभन्दा धेरै पुगेको बैङ्कले जानकारी दिएको छ। यस अवधिमा यस बैङ्कका ग्राहक सङ्ख्या ६ सय ४१ प्रतिशतले वृद्धि हुँदा समग्र बैकिङ्ग क्षेत्रमा १ सय ८५ प्रतिशतले बढेको थियो। 

बैङ्कका डेविट कार्ड प्रयोगकर्ता १ लाख ६० हजारबाट  १९ लाख ४४ हजार बढी पुगेको बैकले जानकारी दिएको छ।

यस अवधिमा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता १ लाख २० हजारबाट बढेर २५ लाख ४१ हजारभन्दा धेरै पुगेको एनआइसी एसिया बैङ्कले जानकारी दिएको छ।

१६ चैत, २०८०, १४:३८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।