स्वीट्जरल्याण्ड भ्रमणले संसदीय गतिविधिमा असर नपरेको सभामुख घिमिरेको दाबी

स्वीट्जरल्याण्ड भ्रमणले संसदीय गतिविधिमा असर नपरेको सभामुख घिमिरेको दाबी

काठमाडौं : उपसभामुख इन्दिरा रानालाई संसद् चलाउने अधिकार नदिई प्रतिनिधि सभा बैठक नै १० दिन रोकेर स्वीट्जरल्याण्ड उडेका सभामुख देवराज घिमिरेले संसदीय गतिविधिहरूमा असर नपरेको दाबी गरेका छन्।

जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औं महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासभामा भएका गतिविधिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभामुखले १० दिन संसद रोकिँदा त्यसले संसदीय गतिविधिमा असर नपुगेको जिकिर गरे।

घिमिरेले सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए।

उनले आफू जेनेभामा हुँदा पनि आवश्यकताअनुसार सल्लाह र छलफल गरेको जानकारी दिँदै भने, ‘संसदीय गतिविधिहरू संसदीय समितिमार्फत बैठकहरू गर्ने, त्यहाँ आएका विधेयकहरूमाथि छलफलहरू चलाउने कामहरू भइरहेकै थियो।’

उनले १० दिनसम्म संसद रोकिंदा त्यसले विषयत समितिका कार्य अलपत्र नपरेको दाबी गरे।

‘समितिका विधेयकहरू जसरी अलपत्र परे भनेर तपाइँहरू बुझ्दै हुनुहुन्छ त्यस्तो अलपत्र केही परेको छैन। विषयगत समितिमा रहेका विषयहरूमा छलफलहरू बहसहरू भैरहेका छन्। टुंगिएका जति विषयहरूलाई टुंग्याउँदै जाने र टुंगो लाग्न बाँकी रहेका कुराहरूलाई अब टुंग्याउने भन्ने गरी नै गइरहेको छ, त्यस्तो छैन। हिजोपनि केही दिन सभा रोकिने केही दिन चल्ने हुन्थ्यो अब पनि त्यही क्रममा राष्ट्रिय सभा पनि चल्ने क्रममै छ’, घिमिरेले भने।

१ सय ४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेका सभामा नेपालले जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका बारेमा कुरा उठाएको उनले बताए।

साथै नन एलाइमेण्ट मोमेण्टमा पनि नेपालको तर्फबाट सहभागिता जनाएको र अहिले देखापरेका चुनौति, जलवायु परिवर्तनले पारिरहेको प्रभाव र नेपाल तथा नेपालजस्ता मुलुकहरूमा तत्काल परेका असरहरूलाई न्यूनीकरण गर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गरेका छन्।

पाँच दिनसम्म चलेको उक्त सभामा नेपालले सहभागी हुन गत बिहीबार साँझ घिमिरेको नेतृत्वको टोलीमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई,नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे सामेल थिए।

१६ चैत, २०८०, १२:१८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।