मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न 'पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’

मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न 'पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्ष बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा बिहीबार भएको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन भन्दै मन्त्रीहरूलाई प्रश्न गरेका थिए।

उनले चालु आर्थिक वर्षको पहिलो ६ महिना सरकारको पुँजीगत खर्च समग्रमा कम रहनु चिन्ताको विषय भएको बताउँदै पुँजीगत शीर्षकमा विनियोजन भएको सबै बजेट पूरा खर्च नहुने अवस्था हरेक वर्ष दोहोरिएकाले यसबारे गम्भीर भएर सोच्न आग्रह समेत गरेका थिए।

उनले बजेट पूर्ण रूपमा खर्च हुनेगरी विकास निर्माणका कार्यको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिएका थिए।

केही मन्त्रालय र केही राष्ट्रिय गौरवका आयोजनाहरूले तुलनात्मक रूपमा राम्रो गरे पनि ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गर्ने सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी खण्ड) र लुम्बिनी क्षेत्र विकास कोषलगायतलाई धन्यवाद दिएका थिए।  उनले अन्य आयोजनालाई बाँकी अवधिमा शतप्रतिशत नतिजा दिन निर्देशन समेत दिएका थिए।

प्रचण्डले निजी क्षेत्र, सहकारी क्षेत्र, समुदाय र विकास साझेदारको स्रोतसाधन परिचालन गर्न तोकिएको खर्च समयमै गर्न आवश्यक रहेको बताउँदै सरकारका सम्पूर्ण अङ्गहरू प्रक्रियामुखीभन्दा परिणाममुखी सोचका साथ अगाडि बढ्न आवश्यक रहेको बताएका थिए।

१५ चैत, २०८०, १६:२४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।