एमालेमा बा र नयाँ पार्टीमा भगवानमाथि प्रश्न उठाउनै पाइँदैन : गगन थापा

एमालेमा बा र नयाँ पार्टीमा भगवानमाथि प्रश्न उठाउनै पाइँदैन : गगन थापा
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा एमाले र रास्वपा नेतृत्वमाथि खनिएका छन्।

दोस्रो चरणको संवाद यात्रा सुरु गर्दै महामन्त्री थापाले एमाले र रास्वपामा नेतृत्वमाथि प्रश्न गर्न नपाउने प्रवृत्ति रहेको बताए।

उनले भने, ‘एमालेमा अहिले पार्टीको अध्यक्षलाई कसैले प्रश्न गर्न नपाउने, पार्टीको अध्यक्ष सबैभन्दा माथि बा। बाभन्दा मुनि सबै जना हुने। बा चाहिँ प्रश्न भन्दामाथि हुने। आलोचना जसले गर्छ त्यसलाई पार्टीबाट बाहिर निकाल्ने।’

महामन्त्री थापाले कांग्रेसले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेको बताए।

उनले थपे, ‘हामीले पार्टीभित्र लोकतन्त्रको अभ्यास गरिरहेका छौँ। हामीलाई यो मन पनि पर्छ। पार्टीको कार्यक्रम सार्वजनिक रूपमै राखेर पार्टीको समस्या समाधान गरिरहेका छौँ। नेतालाई आफ्नो कुरा भन्न पनि पाउने, आफ्नो फरक मत राख्न पनि पाउनुपर्ने पार्टी हामीलाई मन पनि परिरहेको छ।’

उनले रास्वपामा पनि त्यस्तै प्रवृत्ति रहेको भन्दै रवि लामिछानेलाई भगवान भन्दै कटाक्ष गरेका छन्।

उनले अगाडि भने, ‘नयाँ पार्टीमा पनि त्यस्तै छ। अध्यक्ष भनेपछि भगवान्। भगवान् चाहिँ प्रश्नभन्दा माथि। भगवानले ठगेपनि लुटेपनि माथि हुने। त्यस्तो पार्टी पनि बनाउन मिल्छ। तर, हामीले त त्यस्तो पार्टी नबनाउने भन्यौँ। प्रश्न र छलफल गर्ने पार्टी भनेका छौँ।

१५ चैत, २०८०, १२:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।