काठमाडौं उडेको श्रीएयरको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं उडेको श्रीएयरको जहाज भैरहवामा आपतकालीन अवतरण

काठमाडौं : धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ।

बिहान ७:१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतकालीन अवतरण गरिएको श्रीएयरका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीले जानकारी दिए।

काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरिएको र अन्तिममा ९:३४ बजे भैरहवामा अवतरण गरिएको शाहीले बताए।

अढाई घण्टासम्म जहाज सम्पर्कबिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरू अतालिएका थिए। धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो।

यात्रुहरूका अनुसार विमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए। कोटेश्वर नजिकबाट विमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो।

१५ चैत, २०८०, ११:५५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।