ब्याच नम्बर ६९ : टोखा नजिकै भेटिएका भाडाका आमाहरू पच्छ्याउँदा ग्राण्डी अस्पताललाई कोखको व्यापार केन्द्र देखायो

ब्याच नम्बर ६९ : टोखा नजिकै भेटिएका भाडाका आमाहरू पच्छ्याउँदा ग्राण्डी अस्पताललाई कोखको व्यापार केन्द्र देखायो

२०७२ को भूकम्पपछिको कुरा हो यो। कार्यालयमा त्यसै बसिरहेको थिए। पत्रकार रामेश्वर बोहोरा आइपुगे। उनीसँग कुराकानीकै क्रममा 'हेर्नु त' भन्दै एउटा अन्तर्राष्ट्रिय समाचार देखाए। समाचार नेपालमा सरोगेसी(बच्चाका लागि अर्काको कोख भाडामा लिने) विषय सम्बन्धी थियो।

इजरायलको विमानस्थलमा भर्खर जन्मिएका बच्चाहरू लिएकाहरू टन्नै थिए। समाचारमा उल्लेख भए अनुसार उनीहरू गे थिए र उनीहरूले नेपालमा भाडाको कोख प्रयोग गरेर ती बच्चाहरू जन्माएर इजरायल लगेका थिए।

उनीहरू नियमित फ्लाइटबाट हैन इजरायलको विशेष विमानबाट गएका थिए। भूकम्पपछि नेपालमा रहेका आफ्ना देशका नागरिकहरूलाई लिन इजरायलले विशेष विमान पठाएका थिए। ती विमानसँगै २६ जना बालबालिका समेत बाहिरिएछन्।

तस्बिर हेरेर छक्क पर्नु बाहेक अर्को विकल्प थिएन। हामी दुबैबीच यसबारे छलफल भयो। यस्तोसम्म हुन्छ नेपालमा भन्ने भयो। बोहोराले समाचार देखाउनुको उद्देश्य योबारे प्रहरीबाट केही अनुसन्धान होस् भन्ने थियो। तर यसबारे त्यति धेरै जानकारी थिएन।

पहिला त ती भर्खर जन्मिएका बालबालिकाहरू कसरी इजरायल पुगे भन्ने बुझ्न मन लाग्यो। अध्यागमन विभागमा त त्यसबारे केही न केही रेकर्ड हुन्छ भन्ने लागेर त्यता सम्पर्क गरेँ। उत्तर बढो अनौठो थियो। अध्यागमनमा त केही तथ्याङ्कै रहेनछ बालबालिकाहरूबारे।

भूकम्पमा नेपालमा फसेका नागरिकको जीवन रक्षा गर्न भनेर इजरायलले विशेष विमान पठायो अनि सरोगेसीबाट बच्चा जन्माएर लैजान काठमाडौँमा बसेका इजरायली नागरिकहरूले खुरुखुरु बच्चा बोकेर विमानबाट सहजै आफ्नो देश फर्किएछन्।

भर्खर जन्मिएका बच्चाहरू थिए ती। आमा साथमा थिएनन्। विमानस्थलको तस्बिर हेर्दा देखिन्छ उनीहरूले पुतली बोकेर लगे जसरी सहजै नेपालमा सरोगेसीबाट जन्माएको बच्चाहरू बोकेर लगेका थिए।

विपद्को मौका छोपेर यो भन्दा ठुलो अर्को बदमासी हुन सक्छ र! यो त हदै भयो नि।

अध्ययन गर्दै जाँदा नेपालमा किन र कसरी सरोगेसी सेवा बढिरहेको छ अनि कुन कुन देशकाहरु आइरहेका छन् भन्ने केही जानकारी आयो। मुख्य त जब थाइल्यान्ड र भारतमा विदेशी नागरिकले सरोगेसीमार्फत बच्चा जन्माएर लैजान नपाउने कानुन बन्यो अनि नेपालमा यो व्यवसायकै रूपमा फस्टाएको देखियो। यो त धन्दा नै बनिसकेको रहेछ। अनि यो धन्दामा नेपालका प्रतिष्ठित व्यवसायीहरू नै संलग्न देखिए।

थाइल्यान्डमा सन् २०१५ अगाडिसम्म विदेशीहरू सरोगेसीबाट बच्चा जन्माएर आफ्नो देश लैजान पुग्ने रहेछन्। थाई महिलाको कोख भाडामा लिएर बच्चा जन्माउन इजरायली अनि अस्ट्रेलियनहरू धेरै थाइल्यान्ड जाने रहेछन्।

तर एक घटनापछि भने थाई सरकारले विदेशी नागरिकका हकमा सरोगेसीबाट बच्चा जन्माउन नपाउने नियम पारित गर्यो। भएछ के भने, एक अस्ट्रेलियन दम्पती सरोगेसीबाट बच्चा जन्माउन थाइल्यान्ड पुगे। उनीहरूले एक २१ वर्षिया महिलाको कोख भाडामा पनि पाए।

बच्चा पनि जन्मियो तर डाउन सिन्ड्रोम भएको। त्यसपछि ती अस्ट्रेलियन जोडीले बच्चा लैजान मानेनन् र थाइल्यान्डमै छाडेर भागे। यो विषय सार्वजनिक भएपछि विदेशी नागरिकलाई सरोगेसी सुविधा दिनेबारे व्यापक बहस भयो।

उता अस्ट्रेलियन सरकारले कोख भाडामा दिने ती थाई महिलालाई अस्ट्रेलिया आउने अनुमतिसँगै बच्चाको उपचारको सुविधा पनि दियो। यता थाई सरकारले विदेशी नागरिकले थाइल्यान्डमा आएर सरोगेसी सुविधा लिन नपाउने निर्णय गर्यो।

नेपालमा सरोगेसीबाट जन्मिएका बच्चा लिएर इजरायल पुगेकाहरु। तस्बिर : न्युजविक।त्यसपछि त्यही समूह भारत पसेछ। उनीहरूले आर्थिक स्रोत कमजोर भएका भारतीय महिलाहरूलाई आर्थिक प्रलोभनमा पारेर उनीहरूको कोख भाडामा लिएर विदेशीहरूलाई बच्चा दिन थाले। भारत सरकारले पनि त्यसमा प्रतिबन्ध लगायो। अनि समूह नेपाल सर्यो।

नेपालमा सरोगेसी सम्बन्धी कुनै कानुन थिएन। न गर्न पाउने सम्बन्धी कानुन रहेछ न गर्न नपाउने। त्यही कमजोरीमा खेल्दै नेपालका प्रतिष्ठित व्यापारिक समूहमार्फत नै नेपालमा कोख भाडामा दिने धन्दा मौलाएको रहेछ। नेपालको तथ्याङ्कमा पनि यस्तो सेवा लिने अधिकांश इजरायली र अस्ट्रेलियन नै देखिए।

मुख्य त थाइल्यान्डले जे कारण देखाएर विदेशी दम्पतीको हकमा सरोगेसी सुविधा बन्द गर्यो नेपालमा पनि त्यो समस्या आउँदैन भन्ने के छ र! त्यो अवस्था जटिल हुने भइहाल्यो। अर्को कमजोर कानुनमा टेकेर जब अन्तर्राष्ट्रिय नेटवर्क भित्रिन्छन् उनीहरूबाट हुनसक्ने अन्य गैर कानुनी अपराधको मात्रा थप जटिल हुनसक्ने जोखिम पनि हुन्छ नै।

त्यसैले नेपालमा मौलाइरहेको सरोगेसीको धन्दाबारे अनुसन्धान गर्नैपर्ने देखियो। सङ्गठनमा छलफल गरेँ अनि कार्यालयमा आन्तरिक छलफल गरेर काठमाडौँ केन्द्रित सरोगेसीमा सक्रिय केन्द्रहरूबारे अनुगमन सुरु भयो।

मलाई सबैभन्दा धेरै बिझेको नै त्यही इजरायलको विमानस्थलको तस्बिरले हो। नेपालमा कोख भाडामा लिएर जन्माएका बच्चाहरू निस्फिक्री इजरायल पुगे तर नेपाललाई थाहै छैन। कानुन भएको देशमा यस्तो अवस्था कसैले कल्पना गर्न सक्छ? हद हुन्छ नि!

अनुसन्धान सुरु गरेर मात्र त भएन। यसबारे नेपालमा कानुन के छ भनेर पनि खोज्न लगाएँ। प्रस्ट कानुनी प्रावधान केही फेला परेन। तर २०७० असोजमा मन्त्रिपरिषद्बाट सरोगेट आमा र बच्चा चाहने दम्पती दुवै विदेशी भएको हकमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका अस्पतालले सरोगेसी सेवा दिन सक्ने भनेर निर्णय गरेको रहेछ।

मापदण्डहरू के-के हुन्? कस्ताले सरोगेसी सेवा लिन पाउने अनि कस्तोले सरोगेसी बन्न पाउने, शुल्कको आधार, सरोगेसी प्रक्रियाबाट नेपालमा जन्मिएको बच्चा कसरी सम्बन्धित देशमा लैजाने, यदि सो बच्चा अस्वस्थ जन्मियो भने त्यसको दायित्व कोख भाडामा लिनेको हुने कि दिनेको हुने? केही मापदण्ड देखिएन। कानुन नभएको मौकामा पैसाको लोभीपापीहरुलाई सजिलो बनाउन मन्त्रीपरिषद् नै प्रभावित भएको प्रस्टै देखियो।

यो अनुसन्धानको जोखिम अनि जटिलता थाहा नभएको हैन। तर मनले मान्दै नमानेकाले अनुसन्धान अगाडि बढाएँ। केही दिनमै नतिजा पनि आयो। प्रहरी टोलीले नेपालमा महिलाको कोख भाडामा लिएर विदेशी नागरिकका लागि सन्तान जन्माउन सक्रिय समूह अनि अस्पताल समेत फेला पार्यो। त्यसमा देखियो टोखा नजिकको ग्राण्डी अस्पताल। अस्पतालको प्रमुख कामै सरोगेसी देखियो।

अस्पताल अनि संलग्न व्यक्तिहरू केन्द्रित भएर वरपरको अवस्थाको अवलोकन गर्दा आत्तिने अवस्था आयो। वरपरका त्यस्ता कमै घर फेला परे जहाँ गर्भवती महिला थिएनन्। ती कोही नेपाली महिला थिए, कोही भारतीय महिला।

अस्पताल नजिकैका घरहरू भाडामा लिएर गिरोहमा संलग्नहरूले उनीहरूलाई राखेका थिए। घरैपिच्छे छापा मारौँ गर्भवती महिला मात्र छन्। त्यो पनि एकाध हैन चार सय हाराहारी। उनीहरूलाई नियन्त्रणमा लिएर राख्ने कहाँ, के गर्ने? नियन्त्रणमा लिनु मानवीय रूपमा कति जायज?

के गर्ने, के नगर्ने निर्णय नै गर्न सकिएन।

क्रमश : 

१४ चैत, २०८०, २०:४२:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।