एसईई परीक्षा : लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागी हुँदै, रूपन्देहीबाट सबैभन्दा बढी

एसईई परीक्षा : लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागी हुँदै, रूपन्देहीबाट सबैभन्दा बढी

बुटवल : लुम्बिनी प्रदेशमा भोलिदेखि सुरू हुन लागेको एसईई परीक्षाको तयारी पूरा भएको छ।

भोलिदेखि चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा यसवर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागी हुँदैछन्।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी माधव पोखरेलले यसवर्ष लुम्बिनी प्रदेशमा नियमित तर्फ साधारण धारका ७७ हजार ३६४ र प्राविधिक धारका २ हजार ९४६ गरी नियमित तर्फ जम्मा ८० हजार ३१० तथा ग्रेड वृद्धि तर्फ ३ हजार ९० गरी ८३ हजार ४०० जना परीक्षार्थी सम्मिलित हुने बताए।

उनका अनुसार परीक्षा सञ्चालनका लागि १२ वटै जिल्लामा ३४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

निर्देशनालयले परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै जिल्लाका परीक्षा समन्वय समितिबाट ३४० वटै केन्द्रमा केन्द्राध्यक्षको नियुक्ति भई जिल्लास्तरमा अभिमुखीकरण समेत गरेको थियो।

उनले प्रदेशभर ३४० केन्द्राध्यक्ष, ५६७ सहायक केन्द्राध्यक्ष, ४ हजार १८४ निरीक्षक, ८३४ परीक्षा सहायक र १ हजार ६६८ कार्यालय सहयोगी गरी ७ हजार ५९३ परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि जनशक्ति परिचालन गरिएको बताए। साथै, परीक्षालाई भयरहित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालबाट गरिएको उनको भनाइ छ।

कुन जिल्लाबाट कति विद्यार्थी?

प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै विद्यार्थी रुपन्देहीबाट सहभागी हुँदैछन्।

रुपन्देही जिल्लाबाट मात्र १९ हजार ६४८ जना विद्यार्थी सहभागी हुँदैछन्। १८ हजार ४२६ नियमित, ४२४ प्राविधिक र ७९८ ग्रेड बृद्धि गरी कुल १९ हजार ६४८ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्। रुपन्देहीमा परीक्षा केन्द्र ५८ वटा तोकिएको छ।

प्रदेशमा सबैभन्दा कम रुकुम पुर्वमा जम्मा १ हजार ३० विद्यार्थी सहभागी हुँदैछन्।

दाङबाट १२ हजार ८९८ जना विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। ४७ परीक्षा केन्द्रबाट नियमित तर्फ १ हजार २२८, प्राविधिक तर्फ ३२३ र ग्रेड बृद्धि तर्फ ३४७ विद्यार्थी सहभागी हुन लागेको शिक्षा तथा सामाजिक विकास निर्देशनालयले जनाएको छ।

पाल्पामा ४ हजार १८१ विद्यार्थी सहभागी हुँदैछन्। नियमित तर्फ ३ हजार ७४३, प्राविधिक तर्फ २६७ र ग्रेड बृद्धि तर्फ १७१ गरी ४ हजार १८१ विद्यार्थीहरू सहभागी हुँदैछन्।

गुल्मीमा नियमित तर्फ ३ हजार ७९०, प्राविधिक तर्फ २९५, ग्रेड बृद्धि तर्फ १२ गरी कुल ४ हजार ९७ विद्यार्थी सहभागी हुँदैछन्। गुल्मीमा २८ वटा परीक्षा केन्द्र तोकिएको छ।

अर्घाखाँचीमा नियमित तर्फ २ हजार ८१३, प्राविधिक तर्फ १०५, ग्रेड बृद्धि तर्फ ५४ गरी २ हजार ९७२ विद्यार्थी एसईईमा सहभागी हुँदैछन्।

कपिलवस्तुमा नियमित तर्फ ७ हजार ९३८, प्राविधिक तर्फ ३९७, ग्रेड बृद्धि तर्फ ७२३ गरी कुल ९ हजार ५८ विद्यार्थी सहभागी हुँदैछन्। कपिलवस्तुमा ३० परीक्षा केन्द्र तोकिएको छ।

रोल्पामा ३ हजार ८११ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

१९ परीक्षा केन्द्रबाट ३ हजार ५५५ नियमित, १८८ प्राविधिक र ६८ ग्रेड बृद्धि गरी ३ हजार ८११ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन्।

प्युठानमा ३ हजार ९८४, बाँकेमा ९ हजार २६२ र बर्दियामा ७ हजार १३ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

१४ चैत, २०८०, १९:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।