उप-निर्वाचनमा गठबन्धन दलबीच पनि प्रतिस्पर्धा, रास्वपासँगै माओवादी र एकीकृत समाजवादीले नि उम्मेदवारी दिने

उप-निर्वाचनमा गठबन्धन दलबीच पनि प्रतिस्पर्धा, रास्वपासँगै माओवादी र एकीकृत समाजवादीले नि उम्मेदवारी दिने

काठमाडौं : इलाम-२ र बझाङ १(क) मा हुन लागेको उप- निर्वाचनमा सत्ताधारी दलहरू समेत एक अर्का विरुद्ध प्रतिस्पर्धामा उत्रिने भएका छन्।

एमालेले गठबन्धनका दलबीच छलफल नगरी उम्मेदवारी घोषणा गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसँग सहकार्यको प्रस्ताव गरेको थियो। तर, माओवादी केन्द्र र एकीकृत समाजवादी दुवैले उप-निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिल्यै इलाम-२ मा मित्रवत् प्रतिस्पर्धा गर्ने बताइसकेको छ। उसले चैत १७ गते उम्मेदवार तय गर्दैछ।

माओवादी केन्द्र एमालेको उम्मेदवारलाई सघाउन सकारात्मक देखिएको थियो। तर गठबन्धनमा छलफल नगरी एकतर्फी रूपमा उम्मेदवारी घोषणा गरेको भन्दै माओवादीभित्र उप निर्वाचनमा सहभागी हुनुपर्ने मत आएपछि पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई सघाउने निर्णय गराउन सकेनन्।

बुधवार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इलाम २ र बझाङ १(क)मा उम्मेदवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादी केन्द्रको प्रदेशले इलामका लागि धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओम बहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरिसकेको छ।

बझाङमा सहकार्य भए इलाममा उम्मेदवारी नदिने रणनीतिमा रहेको एकीकृत समाजवादीले पनि दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी तय गरेको छ।

तीन दलको नेताहरूबिचको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बझाङ नछाड्ने अडान लिएका थिए। बझाङमा एमालेले नसघाउने भएपछि एकीकृतबाट इलाम २ मा जीतबहादुर राई र बझाङमा दिलबहादुर सिंहलाई उम्मेदवार बन्ने भएका छन्।

एमालेले इलाममा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

रास्वपाले प्रदेश निर्वाचनमा सहभागी नहुने भन्दै इलामका लागि भने उम्मेदवार खोजिरहेको छ। नेपाली कांग्रेसको प्रदेशबाट दुवै क्षेत्रका लागि उम्मेदवारहरूको नाम केन्द्रमा आए पनि कसलाई उम्मेदवार बनाउने निर्णय गरेको छैन।

इलाम क्षेत्र नम्बर २ का लागि ७ जना आकाङ्क्षीको नाम केन्द्रमा आइसकेको छ। प्रदेशले भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको छ।

२०७९ मंसिरको निर्वाचनमा कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार भएर झिनो मतले नेम्वाङसँग पराजित भएका थिए।

उता बझाङका लागि कांग्रेसबाट सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ,  ध्रुवराज उपाध्याय, नारायण हमाल र अभिषेक सिंहको नाम सिफारिस गरेको छ। चैत १८ मा दुवै क्षेत्रको उम्मेदवार घोषणा गर्ने उसको तयारी देखिन्छ।

गठबन्धन बदलिएसँगै बदलियो रणनीति

पहिलो पटक प्रतिनिधि सभाको रिक्त तीन स्थानमा भएको उपनिर्वाचनमा तत्कालीन सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर उम्मेदवारी दिएका थिए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएको तनहुँ र बारासँगै निष्क्रिय नागरिकताको आधारमा अवैध रूपमा उम्मेदवार बनेको भन्दै रवि लामिछानेको चितवन २ मा उप निर्वाचन भएको थियो।

सो उप-निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरू मिलेर एकल उम्मेदवार चयन गरेका थिए।

तनहुँ र चितवनमा गठबन्धनबाट कांग्रेसले उम्मेदवार उठाएको थियो। दुवै स्थानमा कांग्रेसका उम्मेदवार पराजित भए। बारामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेर जितेका थिए।

माओवादीले एकाएक कांग्रेससहितको गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धन बनायो। नयाँ गठबन्धनमा पनि मिलेर उप निर्वाचनमा सहभागी हुनेबारे नेताहरुबीच छलफल भए पनि अन्तमा एक्लाएक्लै सहभागी हुने भएका छन्।

१४ चैत, २०८०, ११:५९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।